पानीको मूल्य एकैपटक १५ रुपैयाँ बढेपछि व्यवसायी आन्दोलित

पोखरा । जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ ।
यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ । विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् ।
पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताउनु भयो । संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ ।
‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो,’ उहाँले भन्नुभयो, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु रु ।’ बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ ।