प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त पक्षमा १६५ मत, विपक्षमा ८३, तटस्थ १

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।
देउवाको पक्षमा १६५ मत आएको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । तटस्थमा १ मत मात्र परेको छ । प्रतिनिधिसभाका हाल कायम रहेका २७१ सदस्यहरुमध्ये जम्मा २४९ मत खसेको थियो । २१ जना सांसद अनुपस्थित रहे ।
विश्वासको मत हासिल गर्न १३६ मत भए पुग्छ ।
देउवालाई उनको दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चाले पुरै मतदान गरेका छन् ।
यसैगरी नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही सांसद र ओली पक्षका केही सांसदले समेत देउवालाई मतदान गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते शुक्रबार बस्ने भएको छ ।