add frist

गृहपृष्ठ प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीको शपथ आज

प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीको शपथ आज

बुटवल । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण आज अपराह्न हुने तयारी छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गर्नुभएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए । विपक्षमै रहेको अर्काे दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै पनि गठबन्धनमा सामेल नहुने अडान राखेपछि कुनै पनि दलले बहुमत जुटाउन नसक्ने स्थिति देखा परेको हो ।

मुलुक कोरोना महामारीका चपेटामा परिरहेका बेला दल र नेताहरुको सत्ता चलखेललाई जनस्तरबाट पनि आलोचना गरिएको थियो भने प्रधानमन्त्री ओलीले आफूले पदका लागि भन्दा पनि महामारी नियन्त्रण, स्थिरता र समृद्धिका लागि योजनाबद्धरुपमा काम गर्दै आएको जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीको निरन्तरतासँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा प्रस्तुतिमा नीतिगत निरन्तरता सुनिश्चित भएको छ ।

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा बढी सदस्यहरु भएको दल नेकपा(एमाले)का संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाइएको छ । संविधानबमोजिम यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीभित्रको असन्तुष्टि बढेमा प्रतिनिधिसभाबाट राजीनामा दिएर विपक्षी दललाई सघाउने अनुमान गरिएकामा आजै एमाले अध्यक्ष ओली र नेता नेपालबीच सम्पन्न भएको वार्तामा कार्यदल गठन गरी पार्टीभित्रको विवाद मिलाउने समझदारी भएको थियो ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा २०७४ फागुन ३ मा नियुक्त प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको व्यहोराको पत्र सङ्घीय संसद्का सभामुखबाट प्राप्त भएपछि राष्ट्रपतिबाट दलहरुलाई नयाँ सरकार गठनको दावी पेश गर्न आह्वान गरिएको थियो । बिहीबार सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको थियो । असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । नेपालसहितका २८ सांसद सोमबारको विशेष अधिवेशनम अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु