मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छः राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले देशको व्यापारघाटा बढिरहेको, आयात नियन्त्रण नभई झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।
रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्न युवा जनशक्तिलाई कृषिक्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापारघाटा कम गर्न सकिने बताइन् ।
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ,’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइन् ।
उनले बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्नेसमेत बताइन् । ‘यसले उद्योगको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउँछ, स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणमा समेत सहयोग पुग्छ,’ उनले भनिन् ।