बुटवललाई आमा शहरका रुपमा विकसित गर्दैछौँ : प्रमुख सुवेदी

बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले बुटवललाई आमा शहरका रुपमा विकसित गर्ने काम भइरहेको बताउनुभएको छ ।
सञ्चारिका समूह रुपन्देहीले आज बुटवलमा गरेको भेटघाटमा बोल्दै उहाँले अरु पालिकालाई समेत अभिभावकत्व प्रदान गर्ने गरी दिर्घकालीन योजना अघि बढाएको उल्लेख गर्नुभयो । “बुटवल आमा शहर हो, अरु पालिकालाई अभिभावकत्व प्रदान गर्ने गरी यसलाई सेटलाइट शहरका रुपमा विकसित गर्दैछौ ।”
कृषि, उद्योग र पर्यटनको विकास मार्फत समृद्ध बुटवल सुखी बुटवलबासीको नारा सार्थक बनाउन रामापिथेकस बोटानीकल पार्क निर्माण, हिलपार्कमा बिगबुद्ध राख्ने काम, जितगढी युद्ध संग्रहालय निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । “भक्तपुर साँस्कृतिक शहर भएकै कारण ७० प्रतिशत बढि आम्दानी पर्यटनबाट हुन्छ । हामीले जितगढीमा बनाउने संग्रहालय र यहाँ निर्माण हुने पर्यटकीय सम्पदाले हाम्रा सन्तती पालिन्छन् ”,प्रमुख सुवेदीले भन्नुभयो ।
विद्यालयको पूर्वाधार र गुणस्तरीय शिक्षामा जोड दिएपछि सामुदायिक शिक्षाको गुणस्तर वृद्धि हनुका साथै सामुदायिक विद्यालय उत्कृष्ट ठहरिएको बताउनुभयो ।
भेटघाटमा उपप्रमुख गुमादेवी आचार्यले नागरिकलाई आर्थिकरुपमा सबल बनाउने गरी काम भइरहेको बताउनुभयो ।
नगरप्रमुख युवा इलम र उपप्रमुख महिला उद्यमशील कार्यक्रम मार्फत युवालाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको बताउँदै उहाँले उपमहानगरले बेरोजगार शुन्य शहनशीलता नीति लिएको उल्लेख गर्नुभयो ।
उपमहानगरले करको दायरा फराकिलो बनाएपछि राजश्व संकलन तेब्बर वृद्धि भएको बताउदै मानवीय र भौतिक विकासको सन्तुलन मिलाएर अघि बढिएको जनाउनुभयो । उपप्रमुख आचार्यले लैंगिक हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजना बनाएर अघि बढ्ने काम भएको र त्यसका लागि सडक मानव शुक्त शहर बनाउने काम भएको बताउनुभयो । “कतिपयले शुरुमा महत्वाकांक्षी योजना भन्नुभयो तर योजना नबनाइ काम हुँदैन,, उहाँले भन्नुभयो ।
सो अवसरमा सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले उपमहानगरका असल अभ्यासलाई मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गरेको बताउनुभयो ।