add frist

गृहपृष्ठ बुटवल फुलबारीमा ‘मुना–मदन’ बाटिका सजाउने

बुटवल फुलबारीमा ‘मुना–मदन’ बाटिका सजाउने

बुटवल । ऐतिहासिक तथा पर्यटकीय स्थलब बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा देशभरका १७ जना कलाकारहरुले ‘मुना–मदन’ बाटिका सजाउने भएका छन् । १६ दिनसम्म चल्ने मूर्तिकला कार्यशालामा विभिन्न आकिृतिहरु दिएर प्रेमको प्रतिक झक्किने गरी बाटिका सजाउन लागिएको हो ।

आइतबारदेखि सुरु भएको कार्यशालामा त्यहाँ उपलब्ध रहेका ढुङ्गा तथा बस्तुहरुको प्रयोग गरी विभिन्न आकृतिहरु निर्माण गरिने भएको छ । नेपाल ललितकला प्रतिष्ठान काठमाडौंबाट आएका राष्ट्रिय स्तरकारहरुले फुलबारी पार्कका भित्र मुख्य अकर्षकको रुपमा स्थापित हुने गरी बाटिका सजाउने अपेक्षा गरिएको छ । बुटवल उपमहानगरपालिका-२ स्थित फुलबारी पार्कलाई लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले बताए ।

कार्यशालाको उद्घाटन गर्दै उद्यानका संस्थापक सदस्य तथा संविधानसभा सदस्य नेत्र पन्थीले शहरको विकास सँगसँगै मनोरञ्जनका क्षेत्रहरुको पनि बिकास गर्न आवश्यक रहेको उल्लेख गरे शहरको विकाससँगै पर्यटकीय क्षेत्रको विकास र विस्तारलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘हाम्रा वरिपरी रहेका पार्क तथा ऐतिहासीक क्षेत्रहरुलाई पहिचान गरि संरक्षणसँगै नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ ।’ उनले भने ।


उद्यानका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पुनः आउले बनाउनका लागि यस क्षेत्रमा रहेका स्रोतसाधनहरुको प्रयोग गर्दै नयाँ सोचका साथ काम गर्नुपर्ने बताए । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । पर्यटकीय पार्कहरूको विकास र प्रवद्र्धन गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ऐतिहासीक फुलबारी क्षेत्रको विकासका लागि तीन तहकै सरकारले सहयोग गर्नुपर्ने बताए । २ वर्ष पहिले नै मूर्तिकला कार्यशाला सुरु गर्ने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण स्थगीत गरिएको उनले बताए । पाँच सय वर्ष पहिला शेन वंशीय राजाको दरबार रहेको साथै दुई सय पचास वर्ष पहिले स्वामी नारायण बसेको ठाउँ समेत रहेकाले फुलबारी क्षेत्रको विकास गरि नेपाल आउने बिदेशी पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनाउनु पर्नेमा लुइँटेलले जोड दिए ।

उद्यान संरक्षण समितीका उपाध्यक्ष माधव नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको फुलबारीमा आउने पर्यटकको संख्या बढाउन झोलुङ्गे पुल निर्माणका लागि डिपीआर तयार भएको बताए । विदेश र बिशेषगरि भारतबाट नेपाल घुम्न आउने पर्यटकहरुले झोलुङ्गे पुल मन पराउने भएकाले विदेशी पर्यटकलाई लक्षीत गर्दै झोलुङ्गे पुल निर्माणको काम अगाडी बढाएको बताए । राष्ट्रको गहनाका रुपमा रहेको उद्यानलाई अझै सन्दर बनाउन एक आपसमा बाझिनु भन्दापनि विकास निर्माणका काममा मिलेर अगाडी बढ्नुपर्ने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु