add frist

गृहपृष्ठ सांस्कृतिक चाडपर्वमा विकृती बढ्दो

सांस्कृतिक चाडपर्वमा विकृती बढ्दो

बुटवल, भदौ । नारीहरुको महान् पर्व हरितालिका तीज विशेष गरी नारीहरुसँग प्रत्यक्ष सम्बध राख्ने एक पर्व हो । जसको महत्व धेरै छ । हिन्दु महिलाको महान् पर्व तीज आइपुगेको छ । भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत गरेर महिलाले तीज मनाउने गर्छन् । महान् सांस्कृतिक परम्पराअन्तर्गत तीज नेपाली नारीको महत्त्वपूर्ण चाड हो । जीवन जगतका विविध आयामलाई गीतमार्फत व्यक्त गर्ने अभिव्यक्तिको सांस्कृतिक परम्पराको रूपमा तीज पर्व शिव उपासनाको महत्त्वपूर्ण पर्वको रूपमा नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको देखिन्छ ।

तर पछिल्लो समयमा तीज भड्कीलो बन्दै गएको छ । के गाउँ के सहर जता ततै तीजको महिमा भन्दा पनि दर को महत्व बढि रहेको छ । गाँउ घरमा खासगरी बर्सौ सम्म पनि आफ्नो माईती घर जान नपाएकी चेली एक बर्षमा सबै आफन्त जन प्रियजन संगभेटघाटगरी आमाको हातले पकाएको दर खीर (ढकनी), चिचिन्डोको तरकारी, बोडिका गेडागुडी मिसाएर खाने प्रचलन रहेको थियो । तर अहिले दर दारुमा परिणात भएको छ । अर्थात पार्टी प्यालेसहरुमा दारुमा दर को प्रचलन बढेको छ । महिनौ दिन अगाडी देखि नै विभिन्न रेष्टुरेन्ट, पार्टी प्यालेसहरुमा गएर तामझामका साथ दारु संगै विभिन्न महङ्गा परिकारहरु मासु खानु अहिलेको चलन बनेको छ । सस्कृतीका जानकार डा. गीतु गिरी यसलाई विकृतीको पराकास्ट नै मान्छन् । उनी भन्छन्–यसले नेपाली महिलाहरुको तीजको महिमा कायम राख्दैन । तीज मनाउने प्रचलनमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ । हुन त परिवर्तन विकासको एउटा महत्तवपूर्ण खुड्किलो हो । बिना परिवर्तन विकास सम्भव छैन । त्यसैले विकासको समग्र परिभाषा पनि सकारात्मक परिवर्तन हो । विकास सकारात्मक परिवर्तन हो भनिएजस्तै हाम्रा सांस्कृतिक परम्परामा पनि परिवर्तन आउनुपर्छ तर ती परिवर्तनले सकारात्मक सन्देश अवश्य दिनुपर्छ । हैन भने परिवर्तनले विकृति र नराम्रा परिवर्तनलाई स्थापित गर्ने खतरा रहन्छ ।

तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ । लोकगायकका गीत सीडी र क्यासेट तयार गर्ने काम त अझै तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु हुन्छ । सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ । पार्टी प्यालेस, घर, टोल र सडक तीजमय भएको देख्न पाइन्छ । दिदीबहिनीहरू महँगा पहिरन र गहनामा सजिएर दर खान हिँडने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ । हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छोडेका छन् । तीज महिलाको मात्र नभएर समावेशी बन्न थालेको छ । पुरुष साथीहरू महिला सँगसँगै कम्मर मर्काएर समावेशी नाचको झझल्को दिइरहेका हुन्छन् । तीजका गीतमा सुनिने गम्भीर भाव चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले प्रत्यक्ष भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर श्रोतालाई जीवनका सुखदुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यमलाई अहिले अलि हल्का र उत्ताउलो ढंगले प्रस्तुत गरिँदै आएका छन् । कति तीजका गीतहरू अब सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएका छन् । केटा र केटी अर्मयादित पाराले नाचिरहेका दृश्यहरूले टेलिभिजनका पर्दाहरू रंगिएका छन् । सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभूषालाई प्राथमिकता दिएर रंगिएका देखिन्छन् । दिन दैनिकीहरू तीज मनाउन र दर खाने प्रक्रियामा अत्यन्त व्यस्त बनेका छन् । भड्किला थेगोहरूले तीजको गरिमालाई हलुका बनाएका छन् ।

तीजमा लगाइने भड्किला आभूषण, महँगा र धेरै झकिझकाउ परिधानहरूले तीज मध्यम र निम्नवर्गीय समाजमा बोझिलो पर्व बन्न पुगेको छ । देखासिकी, भड्किलो फेसन, अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पु¥याइरहेको छ ।

समाजमा अझै पनि असमानता व्याप्त छ । लैंगिक असमानता, भाषिक असमानता, जातीय असमानता परिवर्तनको बाधक बनेर रहेका छन् । तीजजस्ता सांस्कृतिक परम्परा र चाडपर्वले कोसेढुंगा बनेर परिवर्तनको सम्बाहक बन्नुपर्ने हो । तर हामीले सांस्कृतिक चाडपर्वलाई त्यसरी उपयोग गर्न सकिरहेका छैनौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु