add frist

तिलोत्तमाका काँग्रेस उम्मेदवार खाणद्वारा कुलोको जग्गा कब्जा गरी व्यावसायिक भवन निर्माण

"निजी पर्खाल लगाउन समेत सरकारी बजेट"

तिलोत्तमा, २७ बैशाख । तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणले सोह्र–छत्तीस सिंचाई प्रणालीको जग्गा अतिक्रमण गरी मापदण्ड विपरित व्यावसायिक भवन निर्माण गरेको पाइएको छ । उक्त भवनमा खाणले आठवटा सटर बनाएर प्रति सटर आठ हजार रुपियाँका दरले भाडामा लगाएका छन् ।

मापदण्ड विपरित सिंचाई कुलोको जग्गा अतिक्रमण गरी भवन निर्माण गरिएपछि नगरपालिकाले नक्शा पास गरेको छैन । नगरपालिकाले पटक पटक निर्माण कार्य रोक्न आग्रह गर्दा पनि नमनेपछि नक्शापास नगरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ सिद्धनगरमा काँग्रेस उम्मेदवार खाणले कुलो अतिक्रमण गरी व्यावसायिक भवन निर्माण गरेका हुन् ।

करिव १२ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनमा रहेका आठवटा सटरहरुमा किराना पसल, रेष्टुरेन्ट, सैलुन, मासु पसल लगायतका व्यवसाय सञ्चालनमा छन् । ती सटरहरुबाट काँग्रेस उम्मेदवार खाणले मासिक ६४ हजार भाडा बुझ्दै आएको स्थानीय बताउँछन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का निवर्तमान वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले नगरपालिकाबाट मापदण्ड पु¥याएर मात्र भवन निर्माण गर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नक्शापास नै नगरिदिएको बताए । “म वडाअध्यक्षमा बहाल हुँदा नै एक वर्षअघि उक्त भवन निर्माण भएको हो, नगरपालिकाले पटकपटक मापदण्ड पु¥याएर र कुलोको जग्गा अतिक्रमण नगरी भवन निर्माण गर्न आग्रह गर्दा पनि घरधनीले सुनेनन्, त्यसैले नक्शापास नै नभएको हो”–उनले भने ।

उक्त भवन निर्माण गर्दा खाणले राईट अफ वे पनि छोडेका छैनन् । खाणले सिंचाई गर्ने कुलोको जग्गा अतिक्रमण गरेपछि तिलोत्तमा नगरपालिकाका किसानहरु रुष्ट छन् । तिलोत्तमा नगरका किसानहरु उक्त कुलोबाट हुने सिंचाईमा आश्रित छन् ।

सोह्र मौजा सिंचाई प्रणालीका पुर्व अध्यक्ष माधव पाठकले कुलोको जग्गा कब्जा गरेर भवन बनाएको भन्दै आफूहरुले पटक पटक रोक्न खोज्दा पनि अटेर गरेको बताए । “किसानले खेती गर्ने कुलोको जग्गा कब्जा नगर्नुस् भनेर हामीले पटक पटक आग्रह ग¥यौं, तर मानेनन्, जग्गा मिचिएपछि यो कुलोबाट सिंचाई गर्ने किसान पनि चिन्तित बनेका छन्”–उनले भने ।

खाणले त्यहाँ रहेको आफ्नो जग्गालाई समेत सुरक्षित गर्न सरकारी बजेट ल्याएर पर्खाल लगाएका थिए । २०७३ सालमा आफ्ना दाई बालकृष्ण खाण सिचाईमन्त्री भएको बेला उनले तीनलाख बजेट पारेका थिए । तर सोह्र मौजा सिंचाई प्रणालीको व्यापक विरोध भएपछि सिंचाई विभागमार्फत आएको उक्त बजेट निकाशा नभै फ्रिज भएको थियो । त्यसपछि अर्कोवर्ष सिंचाईमन्त्री खाणमार्फत रामकृष्णले फेरि तीनलाख बजेट पारे र आफ्नो जग्गा सुरक्षित गर्न भन्दै पर्खाल लगाए ।

त्यतिबेला सोह्र मौजा सिंचाई प्रणालीले त्यहाँ रहेका अन्य व्यक्तिको जग्गाको सुरक्षाका लागि पनि पर्खाल लगाउनुपर्ने भन्दै बजेट माग गरेको भएपनि सरकारले उपलव्ध नगराएको पाठक बताउँछन् । “तर कुनै एकजना व्यक्तिको पहुँचको आधारमा निजी जग्गामा सरकारी पैसा खर्च गरेर पर्खाल लगाउने काम भयो”–उनले भने ।

यस विषयमा काँग्रेस उम्मेदवार खाणले भने त्यो भवन आफ्नो नभई ससुरालीको भएको प्रतिक्रिया दिए । त्यहाँ बाटोको पनि नक्सा नकाटिएको भन्दै उनले कुलोको जग्गा पनि नमिचिएको दावी गरे । “त्यो जग्गा मेरो नाममा छैन, त्यो ससुरालीको जग्गा हो, त्यहाँ एकतले टिनको टहरो निर्माण गरी व्यावसायिक सटर बनाइएको साँचो हो, तर कुनै पनि मापदण्ड मिचिएको छैन”–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु