एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने

बुटवल । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने तयारी पूरा भएको नेकपा एमालेले जनाएको छ ।
महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशन र महाधिवेशनको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीले महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तिव्र तयारी रहेको बताउँदै लुम्बिनीबाट ७५ हजार सहभागिता जनाउने योजना रहेको बताए । उनले चितवनमा गण्डकी प्रदेशको चितवनमा हुने महाधिवेशनमा लुम्बिनीका १२ वटै जिल्लाबाट ७५ हजार जना सहभागी गराउने योजना अनुरुप तयारी रहेको बताए । साथै रुपन्देही जिल्लाबाट मात्रै २२ हजार सहभागि हुने अध्यक्ष गिरीले बताए । ‘महाधिवेशनका लागि लुम्बिनीका विभिन्न जिल्लाहरुमा तयारी भइरहेको छ ।
यसपटकको महाधिवेशनमा पर्चा पम्पेल्ट र भित्तेलेखनले प्रचार प्रसार नगरिने भन्दै सम्भव भएका स्थानमा डिजिटल डिप्लेमार्फत पनि प्रचार प्रसार गरिने उनले बताए । एमाले प्रचार विभागका सदस्य डिआर घिमिरेले बुटवलमै महाधिवेशन भएको झल्को दिने गरी बुटवलमा प्रचार प्रसार व्यापक गरिने बताए ।एमाले रुपन्देही प्रचार विभागका संयोजक मोहन चापागाईले महाधिवेशन लक्षित गरी लुम्बिनी सन्देश नामक बुटेलिन समेत प्रकाशन गर्न लागिएको बताए ।
महाधिवेशन प्रतिनिधिको विवरणसहित जवज, कम्युनिष्ट आन्दोलन, हालसम्म भएका ९ वटा महाधिवेशनको समीक्षा र १० औं महाधिवेशनले दिन खोजेको सन्देशबारे पनि बुलेटिनमा समेटिने उनले बताए ।
पत्रकार सम्मेलनमा महाधिवेशन प्रचार–प्रसार लुम्बिनीका सदस्य शेरबहादुर केसी,प्रेस चौतारी नेपालका सचिव भरत केसी, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष प्रदिप आचार्य, प्रेस चौतारी लुम्बिनीका सचिव अमृत गिरी लगाएतको सहभागिता रहेको थियो ।