भैरहवाबाट ६ सय बढी एमालेमा प्रवेश, एमालेको पक्षमा जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तियो : उपाध्यक्ष पौडेल

भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तिएको बताउनुभएको छ ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले पाँच दलीय गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा दिदैँ बालुवाको लड्डु नबने जस्तै पाँच दलीय गठबन्धन पनि नबन्ने बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएको पौडेलले पाँच दलीय गठबन्धनलाई चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउदै पौडेलले निर्वाचनमा पाँच दल मिलेर आए पनि एक्लै आए पनि निर्वाचनमा एमालेलाई जित्न सक्ने तागत कसैसगँ नभएको भन्दै यस पटकको निर्वाचनमा एमालेको भाग्यमा बिजय र गठबन्धनको भाग्यमा पराजय लेखेको बताउनुभयो ।
उहाँले सबैको चाहना,आशा,भरोसा र नेपाली जनताले पत्याएको पार्टी नै एमाले रहेको बताउदै देशभर नै एमालेले जित्ने दाबी गर्नुभयो ।
उपाध्यक्ष पौडेलले नेकपा एमालेमा प्रवेश गर्नेहरु जीवनमा पछुताउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘तपाईंहरु जनताको लोकप्रिय पार्टीमा प्रवेश गर्नुभएको छ,तपाईंहरुलाइ सदैब गर्व महसुस गर्नेगरि हामीले पार्टीमा काम गर्ने अवसर दिने छौं ।
पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका केन्द्रिय संस्थापक सदस्य हजरत अलि मुसलमान, जसपाका नेता तथा वडा नं ८ वडा अध्यक्षका उम्मेदवार रहेका ओसिम खान, जसपाका नेता सलामद ओली, उद्योगी ब्यावसायी सुरेन्द्र केसी एमालेमा प्रवेश गर्नुभयो ।
त्यसैगरी ब्यावसायी वारिस खान, नेपाली कांग्रेसका नेता केशर बहादुर भुसाल र उमा शंकर तिवारी, करांते खेलाडी केशर यादव लगाएतका नेताहरु सहित ६ सय बढी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले सिद्धार्थ नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।