add frist

गृहपृष्ठ चौतारी

चौतारी

पहिलेका मानिसहरु निक्कै बुद्धिमान र भविष्यदर्शी रहेछन् भन्ने कुरा उनीहरुले गरेका कामहरुबाट देख्न सकिन्छ । खान ,लगाउन र अन्य ब्यबहारिक कार्यहरु गर्न मान्छे घरबाट हरदम बाहिर जानुपर्ने हुन्थ्यो । बाटोमा हिड्दा थकाइ तथा चर्को घामको तापलाई छेक्नका लागि बाटाका किनारमा रहेको चौतारीले निक्कै ठूलो राहत दिने गर्दथ्यो । बाटो हिड्ने बटुवाहरु चौतारीको सितलताबाट थकाइ मेट्नुका साथै आनन्दानुभूति गर्दथे । चौतारो चिन्नु मानिसको सबैभन्दा ठूलो धर्म मानिन्थ्यो त्यतिबेला । मान्छेले सबै धर्म गरे पनि चौतारो चिनेको छैन भने मानिस स्वर्ग जान सक्दैन भन्ने विश्वाश हुँने भएकाले सार्वजनिक स्थानमा जसरी पनि चौतारो निर्माण गर्दथ्यो मानिसले । मरेपछि स्वर्ग जानका निम्ति पनि चौतारोबनाइन्थ्यो । यस किसिमको जन विश्वाश नेपालभरि नै फिजिएको थियो ।
चौतारी बनाउने प्रतिज्ञा गरेको तर नबनाउदमा कसैैको स्वर्गबास हुन गएमा त्यसका सन्ततिले उसको इच्छालाई पूर्ण गराउनका निम्ति चौतारी चिनेरै छाड्दथे । चौतारोमा बर पिपलका रुख रोपेर हुर्काउने र हुर्किसकेपछि बिबाह गरिदिने चलन पनि थियो । अझै सक्नेले त सोही चौतारीमा माटोको घैंटोमा बिहानै पानी भरेर राखिदिने जुन बटुवालाई सितल बस्नजादा तिर्ख मेट्नलाई सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ पुन्यात्मक कार्य गरिन्थ्यो । बाटोमा ओहोरदोहोर गर्ने बटुवा, गोठाला, खेताला जोसुकैले पनि चौतारीमा आराम गरी चिसो पानी खाने प्रचलन थियो । त्यस्तो सुबिधाजनक चौतारीलाई धर्मशालाको रुपमा चिनिन्थ्यो । सबैले धर्मशाला राख्न सक्दैनथे । तसर्थ कही कही मात्र धर्मशालाहरु सक्नेले राखेका हुन्थे । यस्ता सितलता प्रदान गर्ने चौतारीहरु उकाली, ओराली, लेक र फाँट सबै ठाउँहरुमा बनाइएका हुन्थे । कही कही त चौतारीको संगै पाटी समेत बनाइने गरिन्थ्यो । ज्यादै टाढा जाने एकैदिनमा पुग्न नसकिनेहरुका लागि यो पाटी बरदान साबित हुन्थ्यो । मानिसहरु हिड्दा कहाँ के के छ, सबै कुरा हेरेर पैदल हिड्ने गरेका हुन्थे । आजको जस्तो चोर्ने, दुख दिने, अनैतिक ब्यबहार देखाउने भन्नेकुरा सोच्नै पर्दैनथ्यो । सकेसम्म सहयोग गर्ने र धर्म कमाउने मात्र मानिसको सोचाइ रहन्थ्यो ।सबै मानिसहरु सहयोगी हुन्थे त्यतिबेला ।
मानिस धार्मिक तथा नैतिकताको बन्धनमा पूर्ण रुपमा बाधिएका थिए । घरको मूलीले योजना बनाउथ्यो र सबैलाई भनेपछि त्यो कानुन सरह कार्यान्वयिन हुन्थ्यो । मानिसहरु धर्म र कर्ममा अधिक विश्वाश गर्दथे । चौतारी मानव जीवनको असाध्य नजिकको आश्रयस्थल थियो त्यतिबेला । आजका सबारीका साधन तथा सुबिधायुक्त बाटो पनि त थिएन । सबै मानिसहरु पैदलै हिड्न पर्दथ्यो । धनी, गरिब, सानो ठूलो, सक्ने, नसक्न,े महिला, केटाकेटी सबै हिडेरै गन्तब्यमा पुग्न पर्ने भएकाले पनि चौतारीको महत्व अधिक थियो । “थकाइ मार्ने चौतारी त बास बस्ने पाटी, बनाउनेले धर्म लियो हामलाई भयो जाति” भन्दै सुस्केरा हालेर थकाइ मार्ने गरेको पहिलेको याद अहिलेसम्म पनि ताजै छ ।
समाजमा मानिसहरु आज पनि भन्ने गर्छन् ,“चौतारो चिनिस् ? नचिनेको भए बेलैमा सोच्नुपर्छ, स्वर्गको मूलढोका खुल्दैन है ? प्रत्यक मानवले कमसेकम एउतासम्म चौतारी चिन्नुपर्छ ।” चौतारी चिन्नु भन्नाको अर्थ कुनै मानिसको बिबाह गरिदिने, कसैको जीउधनको संरक्षणमा योगदान गर्ने, टुहुरालाई हुर्काउने, अपाङ्गको उद्धार गर्ने, एकल तथा बिधुवाको सहारा बन्ने, बिरामी तथा अशक्तलाई उपकार गर्ने जस्ता काम चौतारो चिन्नु अन्तर्गत पर्दछन् । आज पनि मानिसले बहुसंख्यक मानवका निम्ति हित हुने काममा लागिरहेका छन् । आफ्नो शरीरको आधार रगत दिएर अर्का मानिस, (जो चिनेका होइन) लाई बचाइरहेका उदाहरणहरु प्रशस्तै पाइन्छन् । कोहीले मृगौला दान दिएर ठूलो धर्म कमाएका छन् । त्यस्तै आँखालगाएतका अंगहरु दिएर अर्को शरीर सपांग बनाइएका छन् । यसरी आफ्नो शरीरको अंग नै दान दिएर अपरिचित मानिसलाई बचाउनेहरुले ठूलो धर्मशाला सहितको चौतारी चिनेको ठहरिन्छ । सत्कर्म गरी चौतारी चिन्नेहरु प्रसस्त रहेका छन् तर पनि बिकृति र बिसंगति तिब्ररुपमा बढेकाले राम्रा ब्यक्ति ओझेलमा पर्न गएका हुन् । संसारमा असल काम गरेर पुण्यात्मक चौतारी चिन्नेहरु अबिरलरुपमा सेवामा जुटिरहेका छन् । साच्चै भन्नुपर्दा ती भगवानका दोस्रा अवतार नै हुन् र त्यस्ता महान ब्यक्तिले निर्माण गरिदिएको चौतारी सदाका निम्ति अविश्मरणीय हुनेछ । र उनीहरु कहिल्यै मर्ने छैनन्, अमर रहिरहने छन् ।
संसारमा जति मानिस छन् ती सबैले चौतारी चिन्न सक्छन् भन्ने कुरा होइन । सबैसंग त्यो सामथ्र्य नहुन पनि सक्छ । सक्नेले चौतारी निर्माण गर्ने हो । नसक्नेले निर्माण गर्न लागेको चौतारीमा एउटा इँटा थप्न प्रयत्न गर्ने हो । यदि त्यो पनि सकिदैन भने अर्काले गरेको पुन्यात्मक कार्यलाई सकारात्मक रुपबाट समर्थन गर्नुपर्दछ । यसमा समेत आफ्नो फूर्सद भएन यदि भने नबोली बस्न त सकिएला ? जीवनमा आउने हरेक घटनाहरुप्रति सकारात्मक सोच राख्ने र सेवा भावलाई आत्मसाथ गर्दै चौतारी चिन्नेहरु प्रति आस्था मात्र राख्न सके पुण्य हुन्छ । आज मान्छे डरलाग्दा रोगहरुबाट आक्रान्त भैरहेको छ । कैयौं मान्छे मरेका छन् । बच्नेलाई पनि कुनबेला कहाँ ,के हुने हो ? भन्न सकिने अवस्था छैन । कतै दुधे बालक टुहुरा, त कतै बिधुवा हुन परिरहेको छ । कतै बृद्धहरुले आफ्ना प्राणप्रीय सन्तति गुमाएर मुर्छित भैरहेको अवस्था छ । कैयौं मानिसहरु अक्सिजनसम्म नपाएर मृत्युलाई कुर्न बिबश छन् । चारैतिरको रोदन र चित्कारले सबैलाई स्तब्ध बनाएको छ । साँचेर राखेको तन, मन र धनले मरेपछि केही काम दिदैन । जति सकिन्छ शरीर छदै गर्नुपर्दछ । यस्तो बेलामा असल चौतारी चिन्नेहरुको खाँचो रहेको छ । सबैले सानो ठूलो आफूसक्य चौतारी निर्माण गर्नु पर्ने अवस्था आएको छ । यदि सकिदैन भने पनि एउटा इँटासम्म थप्ने प्रण गरौं । जो जसले जहाँ जसरी सहयोग गर्न सकिन्छ, सहयोग गरौं । आफू बँचौं र अरुलाई पनि बँचाऊँ ।

पोखरा–१०, मिलनटोल, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु