add frist

गृहपृष्ठ खबरदारी

खबरदारी

घर राम्रो र आकर्षक बनाउन परिवारका सदस्यहरुको आपसी घनिष्टता एवं सहयोगात्मक भावनाको सामिप्यता हुनु जरुरी पर्छ । सूर्यका सन्तति साने र ठूलेभिन्दै सोच हुदाहुदै पनि एउटै घरमा रमेका थिए । घरको जिम्वेवारी कस्ले बहन गर्ने ? भन्ने सन्दर्भमा आपसी सल्लाह भयो र ठूलेले घरको बागडोर समाल्ल पुग्यो । काम गर्ने दौरानमा धेरै असजिला र अप्ठ्यारा क्षणहरु सामना गर्दै गयो उसले । तर ठूलेको चलाई र ब्यबहार सानेलाई पटक्कै मन परेन । सानेले आफूजस्तै असन्तुष्ट परिवारका सदस्यहरु लिएर बिरोधका स्वरहरु उराल्न थाल्यो उसका आपत्तिजनक कुराहरु प्रति । त्यसको आलोचना गर्न थाल्यो उसले निरन्तर । त्यसको कुनै प्रभाह नगरी आफ्ना कदमलाई स्वविवेक अघि बढाउदै गयो उसले । ठूलेको स्वभाव हठी र घमण्डी थियो । आन्तरिक बिद्रोहले भित्र भाँडभैलो मच्चिन पुग्यो ।
“साँढेको जुधाई बाच्छाको मिचाई”भने झैं परिवारका अन्य सदस्यहरुलाई भाइहरु बिचको किचहलोले निक्कै समस्यामा पु–यायो । कस्को पछि लाग्ने ? कसलाई दोष दिने ? कसैले भनेको कोही नमान्ने भएपछि नेतृत्व कस्लाई दिने ? बिद्रहगर्ने दुई मध्ये सही कुन हो ? कसी लगाउने काम मुखियाको हुने भयो । मुखिया बा के भन्न्ुहुन्छ ? फैसला कसरी हुन जान्छ ? यस किसिमको आन्तरिक झगडाले उग्ररुप लिदा परिवारका अतिरिक्त आफन्त तथा वरपर रहेका मानिसहरुले आलोचना गर्ने मौका पाएका थिए । “भाइ फुटे गभार लुटे”भन्ने पुरानो उखान स्पष्ट ब्यबहारमा देखिन पुगेको थियो । लडाएर तमासा हेर्नेहरुले पनि आआफ्नै तवरबाट पाशा फाली रहेका थिए । रमितेहरु मौका छोपी हाँसीमज्जा गरिरहेका थिए । आज तिखेढुंगामा जम्घट एवं बिद्रोह छ एउटाको भने त्यसको प्रतित्तर दिन अर्कोले गालीगलोज तथा आरोप प्रत्यारोप गर्दै असलेमा भेला गरेको छ घाँटी सुक्नेगरि मैदानमा कुर्लीरहेछ । कसैले भनेर वा सल्लाह दिएर हुदो रहेनछ यस्तो आपसी बिद्रोह । यस किसिमको खिचातानीले परिवार लगाएत समाजनै बिकृत र अस्तब्यस्त बनायो । काम गर्नेले पनि राम्रसंग पारिबारिक जोमेसो मिलाउन नपाउने स्थिति बन्यो त्यहाँ । भाइभाइ बिचको दंगादंगीले गरी खाने श्रमिक, गन्तब्यमा पुग्ने बटुवा, अग्रगामी सोच बोकेका बिज्ञ, कर्मशील मजदुर, समाज सुधारक, कलाकौशल प्रेमीहरु लगाएतका सबैलाई लक्ष्यमा पुग्न कठिन बनायो । सबैको चाहना घर नबिग्रियोस र नभत्कियोस् नै हुन्थ्यो । घरका अधिकाम्श सदस्यहरुको चाहना परिवार उधाहरणीय बनाउन एकाकार हुनु पर्ने कुरामा रहेको छ । तर रिसाएको बाघ सुतेको अवस्थामा भए पनि जँुगा उखेल्ने शाहस कसैसंग पनि हुदोरहेनछ । भन्न सक्ने र उचित मार्ग निर्देश गर्न सक्नेको खाँचो पररिहेको थियो । सबैका आँखा मुखियाबातर्फ डोरिएका थिए,उनले कसरी निचोड निकाल्ने हुन् ? परिणाम कतातिर बहने हो,कसैलाई थाह नभए पनि दुबै पक्षका ब्यक्तिहरु चर्को बिद्रोहात्मक स्वर उराल्दै आफ्ना पक्षमा पाशा पार्नका निम्ति सक्दो कसरत गरिरहेका थिए ।
घर भताभुङ्ग भैसकेको बेला छत बिग्रेको, भित्ता सिलेसी लागेको, झ्यालढोकाको स्थिति दयनीय भएको अवस्थामा रहेका जताततै कमजोरी,बस्न र खानाको कुनै ठेगान थिएन । कस्ले के काम गर्ने ? को कहाँ बस्ने ? कसरी घर संचालन गर्ने ? भावी योजनाहरु क्े के छन् ? जस्ता कुराहरु प्रति कसैको चासो देखिदैन । के घर संचालनको कुनै नियम छैन ? यदि नियम छ भने त्यसलाई कार्यान्वयिन गराउन किन सकिदैन ? गल्ति एउटाले गर्छ , भोग्नु पर्ने निर्दोषले ? यस्तो बिडम्बनाको अन्त्य गराउनका लागि पारिवारिक विधान नै परिवर्तन गराउनु प–यो । यस तर्फ पारिवारिक सोचको विकास हुनु जरुरी थियो ।
साने र ठूलेको झगडा उत्कर्षमा पुगेपछि मुखियाबाले परिवार संचालन गर्ने अधिकारमा योग्यता,उमेर तथा नवीन सोच, विवेक हुनुपर्ने बताउदै कमि कमजोरी प्रति आत्माआलोचना गर्न लगाई मजभूत गराउन निर्देश गरे । आपसी समझ्दारीमा नेतृत्व चुनी घरलाई बलियो बनाउने फैसला सुनाइयो । घरको विधान स्वरुप आएको फैसला अनुरुप ठूले र सानेले आआफ्ना ठाउँमा भएका कमिकमजोरीलाई आत्मालोचना गरे । आपसी मेलबाट नेतृत्व चयन गरिने भयो । यस कार्यबाट घरको अबस्थामा सुधार आई ब्यबस्थित र योजनाबद्ध कार्यको थालनी हुनपुग्यो । घरमा देखिएका समस्याहरु समाधान हुदै गए । नेतृत्व चयनमा सबैको समान सहभागिता हुन गई योग्य ब्यक्तिलाई चयन गरिने परिपाटीले गर्दा परिवार आकर्षक र उदाहरणीय बन्न पुग्यो ।
माथिको एउटा काल्पनिक कथा मात्र हो । आज नेपालको सन्दर्भमा पनि यो कथा उपयोगी र सान्दर्भिक छ कि ? जस्तो लाग्छ । हाल देखिएको नेपाल कम्युनिष्ट पार्टीभित्र देखा परेको खिचातानी पनि यस कथासंग मेल खान्छ कि झैं लाग्छ । एउटै पार्टीभित्र गुट उपगुट सृजना गरेर आफ्नै घर भत्काउन कसरी अग्रसर भए होलान नेताहरु ? आखिर ब्यक्ति भन्दा सिद्धान्त ठूलो होला ? दाजुभाइ लडेर आखिर पाउने के हो ? घर भत्काए पछि जाने कहा हो ? त्यहीको स्वास लिएर, त्यहीको मायामोह, संरक्षणबाट आफ्नो हैसियत बनेको बिर्सेर किन बुर्कुसी मार्न परेको हो ? आखिर ब्यक्ति त हेही होइन । चाहिने त सबैलाई घर नै होला ?बादरले आफ्नो घर पनि बनाउदैन, अरुको घर पनि भत्काइदिन्छ । भाइभाइका बिचमा तानातान, भनाभन, हानाहान किन ? विवेक, पारख, सत्विचार, सत्कर्म, सत्बुद्धि, जस्ता कुराहरु कता गए ? आफ्नै घरभित्रका उपकरणहरु आफैले उपयोग नगरेर तेरो र मेरो किन ? एउटाले गल्ति गरेपछि अर्कोले सुधार्ने , आपसिमेल, भातृत्व, भाइचारा, सहयोग,जस्ता कुराहरुलाई आत्मसाथ गर्दै अग्रगामी दिशामा अघि बढ्दा के बेफाइदा हुने थियो होला र ? फेरि आफैसंग रहेको अधिकार अरुलाई बुझाएर के फैसला आउछ ? भनेर पर्खनु पर्ने स्थितिको सृजना किन गर्नु परेको ? त्यस्तै एउटै द्धरका सदस्यहरु भिडन्त गरी आफ्नो अहित चिताउनेलाई रमिता देखाउदै उनीहरुसंगै उल्टै गुहार माग्न अलिकति पनि लाज किन नलागेको होला ? आफ्ना पोल्टाको खजाना आफै मिलेर नखाएर अरुसंग माग्न जाने ? के भएको हो यस्तो बेस्थिति ?बिगतको क्ष्तिहासलाई पनि निहालेर हेरौं । वि सं २००४ सालमा नामाकरण नै हुन नसकेको पार्टी २०१५सालमा ४ सिट हुदै आज दुईतिहाईको सफलता आइपर्दा समेत सुशासन कायम गर्न नसकेर के को नाटक सृजना गर्न परेको हो ? फेरि जनता कुरै नबुझिीं जसले जे भन्यो ,जता जाम भन्यो, जे गरौं भन्यो त्यही पत्याएर त्यस्तै ब्यबहार देखाउने ? के अचम्म भएको होला । ए बाबा , कालो बस्तु देखाउदा त कालै पो भन्नुपर्छ र,कालोलाई सेतो भन्न कसले सिकाएको हो र भन्नेले पनि अलिकति ख्याल गरेर भन्नु त पर्छ ?पद तथा कुर्चीका निम्ति मरिहत्य गर्नु स्वार्थताको पराकाष्टा नै हो झैं लाग्छ । अमेरिकाका पूर्व राष्टपति अब्राहन लिङ्कन जस्तो त्यागी बन्न आजका नेताहरुलाई के ले छेकेको छ ? एउटै आमाका सन्तान आफन्तको खिल्ली उडाई स्वावलम्बिता गुमाएर इज्जत प्रतिष्ठा गुमाउन उद्धत देखिएका छन् । दिनचर्या गाली, बिद्रोह, मानप्रतिष्ठाको अबहेलना, अहंकार, प्रतिशोध, आक्रोषलाई सहयात्री बनाई आफ्नो आँङ कन्याएर शरीर फोहर पार्नेकाममा लाग्नु अति तुच्छ र घिनलाग्दो ब्यबहार हो । जनताको त्याग र बलिदानबाट निर्मित आज छिन्नभिन्न हुन पुगेको छ । यस किसिमको चलखेलबाट घुषखोर तथा २ नम्बरी धन्दा मौलाउने र आतताइहरु छिप्ने सुहबसर मिलेको छ । बहानाबाजी गर्नेहरुका निम्ति समय भनेजस्तो भएको छ । देश विकासका योजना सबै निष्तेज वा निरासाजनक भएका छन् । देशका सर्जक तथा उत्कृष्ट दक्ष जनशक्ति विदेश पलायन हुन पुगेको छ । कर्मचारीमा लुटतन्त्र मौलाएको छ । नेताहरु भने जनताको रगत र पसिनामा होली खेली रहेका छन् । देश अति गरिबीको जलजलमा फसिरहेको छ । जमिन बाँझै रही जनता भोकभोकै रहने स्थिति आइरहेको छ । शिक्षा कोरा एवं शैदान्तिक हुदा उत्पादित जनशक्ति बेकम्बा बनेको छ । प्राकृतिक स्रोत त्यसै उपयोग बिहिन बनेकाछन् । उद्योगहरु थपिनुको साटो भैरहेका पनि संचालन हुन सकिरहेका छैनन् । उसतर्फ कसैको सोच देखिदैन । नेता महासयहरु आफ्नो स्वार्थसिद्धिका लागि तछाडमछाड, तानातान, हानाहान गरिरहेका छन् । के हुन लागेको हो ?काम गर्दा गल्ती हुन सक्छ ,स्वीकार्न सक्नुपर्छ र स्वकार्न लगाउनु पर्छ । ब्यक्ति केही होइन, पार्टी ठूलो हो ,यसलाई जिबन्त राख्नु तमाम अनुयाई को मूल धर्म याने कर्तब्य नै हो । त्यसका निम्ति सबै एकाकार भई गल्ती गर्नेलाई कठघरामा ृउभ्याई विधानलाई सर्वोपरि मानेर नेतृत्वको खोजी गरिनु आजको प्रमुख चुनौती बनेको छ । सबै आआफ्नो ठाउबाट उठी सभ्य र समुन्नत पार्टी बनाउनका निम्ति एक जुट होऊँ । पार्टीगत मूल्य र मान्यतालाई आधार मानी सिद्धान्तको अनुसरण गर्दै सम्मानित ,कर्तब्यनिष्ट नागरिकको परिचय दिऊँ । आफ्नो घरलाई जिवन्त र उच्च राख्न जस्तोसुकै त्याग गर्न पनि पछि नपरौं । खबरदारी गर्दै घरको प्रतिष्ठा बचाउनु आजको अपरिहार्य माग हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु