चर्चामा

पारिवारिक बेमेल र सम्पत्ति सिर्जना हत्याको मुख्य कारण, भान्जा नै मुख्य अभियुक्त

पारिवारिक बेमेल र सम्पत्ति सिर्जना हत्याको मुख्य कारण, भान्जा नै मुख्य अभियुक्त
0 0
Read Time:8 Minute, 2 Second

पोखरा । पोखराको सभागृहचोकमा २ दिनअघि एक महिलामाथि धारिलो हतियार प्रहार गरी भएको हत्यामा उनकै भान्जाको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको ४८ घण्टा नबित्दै मृतकका भान्जा नाताका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र अर्का एक जना मतियारलाई पक्राउ गर्न सफल भएको हो ।

पोखरा–५, मालेपाटन घर भई हाल पोखरा–१८, सेदी निवासी ४२ वर्षीया सिर्जना पौडेल केसीको २५ चैतमा साँझ करिब ७ बजे विभत्स हत्या भएको थियो । पोखराको मुख्य बजार क्षेत्रमै यसरी हतियार प्रहार गरी मानिसको ज्यान जानेसम्मका घटना भएपछि सुरक्षा निकायलाई पनि चुनौती थपिएको थियो । तर, प्रहरीले मुख्य अभियुक्तसहित २ जनालाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएको छ ।

प्रहरीका अनुसार मुख्य अभियुक्त शिशिर पर्वतको कुष्मा नगरपालिका वडा ११, शिल्मी घर भई हाल पोखरा–६ मा डेरा गरी बस्दै आएका थिए । यसैगरी, सोही घटनामा पोखरा–१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार पनि पक्राउ परेका छन् । कुशल सो घटनामा मतियारको रुपमा पक्राउ परेका हुन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी उनीहरलाई सार्वजनिक गरेको हो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सो घटनामा पारिवारिक बेमेल तथा अंश विवादका कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । एसपी कार्कीले यो घटना आवेशमा आएर नभई पूर्वनियोजित रूपमा घटाइएको बताए । उनले भने, ‘हामीले म्यानुअल्ली र प्राविधिक रूपमा विश्लेषण गरेर सूक्ष्म ढंगले सूचनाहरू संकलन गरी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ । यो पूर्ण रूपमा योजनाबद्ध हत्या भएको देखिन्छ । अझ थप मानिसहरु पनि पक्राउ पर्न सक्छन् ।

उनका अनुसार मुख्य अभियुक्त शिशिरलाई रुपन्देही प्रहरीको सहयोगमा शुक्रबार बुटवल २, मनकामना टोलबाट पक्राउ गरी कास्की ल्याइएको हो । त्यहाँ उनी लुकिछिपी बसेका थिए । एसपी कार्कीका अनुसार मुख्य अभियुक्त शिशिरको आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको खुलेको छ । उनी अभद्र व्यवहार, चोरी तथा डाँका मुद्दामा पटकपटक पक्राउ परी सजाय भोगेको व्यक्ति हुन् । २०८० माघ २४ मा वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार मुद्दा चलेको थियो भने गत असार ५ मा वडा प्रहरी कार्यालय बैदामबाटै चोरी तथा डाँकासम्बन्धी कसूरमा पक्राउ परेका थिए । त्यसैगरी, गत साउन २३ मा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा पक्राउ परेका थिए ।

यसैगरी, पोखरा-१७,रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार सो घटनामा मतियारको रुपमा प्रयोग भएको बताइएको छ । उनले स्कुटर चलाएर गएका थिए । उनलाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गर्न सफल भएको हो । उनको समेत पृष्ठभूमि आपराधिक प्रकृतिको छ । उनी २०७५ असोज ११ मा र २०७६ वैशाख १७ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा लागु औषध कसूर मुद्दामा पक्राउ परी सजाय भोगिसकेका व्यक्ति हुन् ।

प्रहरीले घटनामा प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर तथा घटनामा प्रयोग गरिएको धारिलो हतियार खुँडासमेत बरामद गरेको छ । स्कुटर पोखराको मुस्ताङचोकबाट र खुँडा पोखरा १६, बिरौटास्थित तितेपानी जंगलबाट फालिएको अवस्थामा बरामद गरेको हो ।

उक्त दिन साँझ स्कुटर चढी आएका उनीहरुले पसल बन्द गरी घरतर्फ जान हिँडेकी सिर्जनामाथि एक्कासि खुँडा हानेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । बोराभित्र लुकाइएको धारिलो खुँडा प्रहार भने भान्जा भनिने शिशिरले सिर्जनाको टाउकोमा प्रहार गरी परियारले चलाएको स्कुटरको पछाडि बसेर भागेका थिए । शिशिरले ‘एउटा काम छ, पैसा दिन्छु’ भनी परियारलाई फकाएर ल्याएको खुलेको छ ।

पतिको निधनपछि एकल जीवन बाँँच्दै आएकी सिर्जनाले पोखरामा पसल संचालन गर्दैआएकी थिइन् । उनकी ४ वर्षीया छोरी छन् ।

पोखरा-५, मालेपाटनस्थित जिरो किमीमा मासुको व्यवसाय गर्दै आएका खसी कृष्णे भनेर चिनिने कृष्ण क्षेत्रीले जेठी श्रीमतीको विष सेवन गरेर मृत्युपछि सिर्जनासँग ९ वर्षअघि दोस्रो विवाह गरेका थिए । तर खसी कृष्णेको २ पनि वर्षअघि मृत्यु भएको थियो । खसी कृष्णेको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । छोरा भने लागु औषध मुद्दामा कास्की कारागारमा सजाय भोगिरहेको खुलेको छ । घटना विवरण अनुसार, सिर्जनाले कास्की जिल्ला अदालतमा बकसपत्र सम्बन्धी मुद्दा दिएकोमा उनको नाममा फैसला भएको थियो । मुख्य अभियुक्तले सिर्जनालाई मार्नका लागि खुँडामा धार लगाई एक महिनादेखि योजना बुनेको स्वीकारेका छन् । घटनाको दिन राति ७ बजेर ६ मिनेटमा पसल बन्द गरी पैदल घरतर्फ जान लागेको अवस्थामा सिर्जनाको मृत्युको शिकार बन्न पुगेकी हुन् । जसका कारण उनको दुःखान्त निधन भयो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार प्रहरीले प्रतिवादीहरुलाई कर्तव्य ज्यान कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । यसैगरी, घटनामा सम्बन्धित अन्य मतियार, योजनाकार, सहयोगी भए–नभएकोबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिवादीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा चल्नेछ । मतियारलाई भने मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ ।

पर्यटकीय राजधानी पोखरामा पछिल्लो केही महिनाकै अन्तरमा हत्याका घटना भएका छन् । सिर्जनाको हत्या पोखराको प्रमुख चोकमै भएकोले धेरैले सुरक्षा चुनौती बढाएको विश्लेषण पनि गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %