बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
काठमाडौँ । नेपालीको प्रमुख पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दुर्गा देवीको पूजा आराधना र जमरा रोप्ने काम गरिँदैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः४७ बजे घटस्थापनाको उत्तम साइत निर्धारण गरेको छ ।
दसैँको पहिलो दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरेर विधिपूर्वक पूजा गरिन्छ । पूजा कोठा वा दसैँ घरमा शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आह्वान गरी नवरात्रको पूजा सुरु गर्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्वलाई दुर्गा पक्षका रूपमा पनि लिइन्छ ।
घटस्थापनाका दिन जमरा राख्ने विशेष विधि छ । बिहान नित्यकर्म सकेपछि नदी वा अन्य चोखो स्थानबाट बालुवा वा माटो ल्याइन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा उक्त माटो राखेर जौँ रोपिन्छ । यसरी रोपिएको जौँको अंकुरलाई जमरा भनिन्छ । दुर्गा देवीलाई प्रिय मानिने जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ । यसलाई समृद्धिको प्रतीकका रूपमा लिने चलन छ ।
जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नरहेको धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताएका छन् । यद्यपि, कुल परम्पराअनुसार केही परिवारले जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । जमराको प्रयोग आयुर्वेदिक औषधिमा समेत हुने गरेको छ ।
समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र पर्ने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निकालिएको हो । सूर्योदयका बेला प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिनलाई यसका लागि उपयुक्त ठहर गरिएको उनले बताए । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारे ।
आज स्थापना गरिने पूर्ण कलशको जलबाट अभिषेक गर्ने र विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ । नवरात्रभर देवीका विभिन्न स्वरूपको पूजा गरिन्छ । महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीक मानेर आराधना गर्ने चलन वैदिक कालदेखि रहँदै आएको छ ।
नवरात्रका नौ दिनमा दुर्गाका नौ स्वरूपको छुट्टाछुट्टै पूजा हुन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।
दुर्गा देवीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसको वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष आराधना गरिन्छ । देवीले आसुरी प्रवृत्तिबाट मानव जातिलाई जोगाएको धार्मिक विश्वास छ । त्यसैले दुर्गा पूजा र दसैँ कुनै जात वा धर्म विशेषमा मात्र सीमित पर्व नभएको गौतमले बताएका छन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँ मनाउने गरिन्छ ।
दुर्गाको प्रतीक मानेर प्रतिपदादेखि महानवमीसम्म हरेक दिन फरकफरक कन्याको पूजा गर्ने परम्परा पनि छ । यसरी पूजा गरिने कन्या दुई वर्षभन्दा माथिका हुनुपर्ने शास्त्रीय विधान छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र र स्तुतिको पाठपारायण गरिन्छ ।
दसैँको सातौँ दिन फूलपाती भित्र्याउने चलन छ । महाअष्टमी र महानवमीमा बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा विशेष पूजाआजा गर्छन् । यस अवधिमा काठमाडौँका नक्साल भगवती र शोभा भगवती, नाला भगवती तथा पलाञ्चोक भगवतीसहित देशभरका शक्तिपीठमा दर्शन र पूजाआराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ ।
काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजदेखि वैदिक विधिअनुसार जमरा राखेर दुर्गा देवीको पूजा सुरु गरिँदैछ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार चित्रा नक्षत्र र वैधृति योगको पूजा तथा हवन गरेपछि समितिले तोकेको साइतमा घटस्थापना गरिन्छ ।
यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका र प्रसाद ग्रहण गर्न चाहनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम मानिएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने शास्त्रीय विधि छ । पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा रहँदै आएको छ ।
कोजाग्रत पूर्णिमामा धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बस्ने र रातभर जाग्राम रहेर पूजा गर्ने चलन छ । यसो गर्दा लक्ष्मीले धनधान्य र ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास छ । घटस्थापनाका दिन रोपिएको जमरा पनि कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगेर विसर्जन गरिन्छ ।
दसैँको अवसरमा रोजगारी, अध्ययन र अन्य कामका लागि घरबाहिर रहेका मानिस गाउँघर फर्कने गर्छन् । परिवारका सदस्य एकै ठाउँमा भेला भएर पर्व मनाउने भएकाले बडादसैँलाई पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइन्छ । रासस

लेखकको सम्वन्धमा