सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
बुटवल । मुलुकभर सरकारले डोजर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीले आन्दोलनलाई थप चर्काउने भएका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गर्न थालेपछि देशभरका सुकुम्बासीहरु एक भएर आन्दोलन गर्ने भएका हुन् ।
यसै बीच भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले जेष्ठ ३ गते बुटवलमा आयोजना हुने विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलनको बारेमा मँगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । राजमार्ग चौराहबाट ३० हजार बढीको उपस्थितीमा र्यालीसहित ट्राफिक चोकमा पुगेर कोणसभाको आयोजना गरिने संघर्ष समितिका संयाजक खगेन्द्र पौडेलले जानकारी दिए । उक्त प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधि तथा रुपन्देहीका १६ वटै स्थानीय पालिकाहरुबाट उपस्थिती रहने उनले बताए ।
जेष्ठ ३ गते आयोजना हुने वृहत प्रदर्शनपछि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा गरिने आन्दोलनको प्रारुप तयार पारिने संयोजक पौडेलले बताए । राष्ट्रिय सम्मेलनका लागि हालसम्म २२ वटा जिल्लाका प्रतिनिधिहरु सम्पर्कमा आइसकेको र अन्य जिल्लाहरुबाट समेत प्रतिनिधिहरु आउने तयारीमा रहेको उनले बताए । राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुगेको संघर्ष समितिले जनाएको छ ।
विघठित भूमि आयोगका अनुसार रुपन्देहीमा ७९ हजार बढी घर परिवारले भूमिहिन सकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीका रुपमा नाम दर्ता गराएका थिए । यसैगरी ५२ हजार घर परिवारको जग्गा नापजाँच सम्पन्न भएको छ । वर्तमान सरकारले आयोग नै खारेज गरेपछि लालपूर्जा वितरणको काम रोकिएको तत्कालिन आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरले बताए । उनका अनुसार रुपन्देहीमा सुकुम्बासीहरुको संख्या मुलुकमै दोस्रो स्थानमा रहेको छ ।

लेखकको सम्वन्धमा