प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपालीहरूको महान् पर्व शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार बुटवलमा आयोजना गरिएको शुभकामना कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य बालकुमारी भण्डारीले लोकतन्त्रको रक्षा र नागरिक अधिकारको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारले जनताका आवाज र सवाललाई उजागर गर्दै राज्यलाई जबाफदेही बनाउन योगदान दिएको उल्लेख गर्दै पत्रकारको हकहित, व्यावसायिक सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा पार्टीले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । उहाँले पछिल्लो समय सरकारबाट प्रेस तथा पत्रकारमाथि भएका व्यवहार र गतिविधिप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र कायम राख्न स्वतन्त्र प्रेस आवश्यक रहेको उल्लेख गर्नुभयो । विशिष्ट अतिथि खाणले पत्रकारको अधिकार र निर्भीक पत्रकारिताको संरक्षणमा नेपाली काँग्रेस सधैँ साथमा रहने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रका विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यसै गरी नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी एवं सदस्यहरू, नेपाल प्रेस युनियनका केन्द्र, प्रदेश तथा जिल्ला तहका प्रतिनिधि, संस्थापक, पूर्व अध्यक्ष, अग्रज तथा वरिष्ठ पत्रकार,पत्रकार र युनियनका सदस्यहरूको उपस्थिति रहेको थियो ।
पत्रकार सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा पत्रकारिता, लोकतन्त्र र प्रेस स्वतन्त्रतासँग सम्बन्धित विषयमा चर्चा गर्दै शुभकामना आदान–प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष एवं नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कल्पना तिवारीले चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो । उहाँले पत्रकारहरूको हकहित, व्यावसायिक सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाल प्रेस युनियन रुपन्देही निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमेश अर्यालको स्वागत तथा सचिव राम प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

लेखकको सम्वन्धमा