कांग्रेसको सरकार बनेपछि अस्पताल गएर कुनै नागरिकले खल्तीबाट एक रुप तिर्नु नपर्ने बनाउँछौँ : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन् ।
सर्लाही- ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र नहुने भन्दै आफू मधेश बुझ्न र मधेस जान्न सर्लाही आएको पनि बताए ।
उनले भने, ‘नेपालको नेतृत्व गर्न पहाड र काठमाडौ थाहा पाएर मात्र हुँदैन। मधेश पनि बुझ्नु पर्छ । म अहिले नेपालको नेतृत्व गर्न, मधेस बुझ्न र मधेसको हुन मधेस आएको हुँ। चुनावको बेला घरघर देखिने अरुबेला नदेखिने सांसद देखि तपाईँहरू थाक्नु भएको छ । तपाईँ अब सांसद खोज्दै आउनु पर्दैन, म आफै आउँछु, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नु भन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो ।’
सो क्रममा थापाले अब कांग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले कुनै पनि अस्पताल गएर उपचार गर्न खल्तीबाट एक रुपैयाँ तिर्नु नपर्ने अवस्था कांग्रेसले बनाउने बताए। किसानका समस्याकाबारेमा समेत आफू जानकार रहेको भन्दै थापाले उखु किसानका समस्याबारे आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको जानकारी गराए ।
उनले थपे, ‘काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो ।’
कांग्रेस सभापति थापाले आफ्नो क्षेत्र सर्लाही ४ लाई मधेशको एक नम्बर क्षेत्र बनाउने प्रतिबद्धता पनि दोहोर्याए। उनले हालै सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियरिङ कलेज खोल्ने निर्णय गराएको र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भइसकेको पनि बताए ।
‘गगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन, अहिले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा भन्न मिल्दैन, अहिले यतिमात्र भन्छु यहाँ सर्लाही क्षेत्र नम्बर ४ मा कुनै साथीले इन्जिनियरिङ कलेज खोल्ने निर्णय गर्नु भएको छ, र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भएको छ’ थापाले थपे ।
उनले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताउँदै अगाडि थपे, ‘मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस, २१ गतेपछि तपाईँहरूको जिम्मा म लिन्छु ।’
थापाले अगाडि थप्दै भने, ‘तपाईँहरू घरघर गएर भन्दिनुस्, के को एमालेरु, केको माओवादीरु, केको रास्वपारु घर घर गएर भन्दिनुस्, यो पटक कोही उम्मेदवार छैन, यो ठाउँको विकास गर्न गगन थापा आएको छ भनेर भनिदिनुस्, यो त्यो छोडेर काम गर्ने जिम्मा मलाइ दिनुस्, म हक खोज्न आएको हुँ ।’

लेखकको सम्वन्धमा