पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम निर्वाचित, ७२ वर्षपछि महिला नेतृत्व
पोखरा । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । उनले अध्यक्षका प्रत्यासीहरु अन्य ३ जनालाई पछि पार्दै पोखराकै जेठो एवं निजी क्षेत्रको छाता संगठन संघको ७२ वर्षे इतिहासमा पहिलोपल्ट महिला नेतृत्वमा रेकर्ड बनाउन सफल भइन्। संघको इतिहासमा हीरा भट्टराई र बिन्दु कोइरालाले पनि अध्यक्षमा चुनाव लडे पनि सफल हुन सकेका थिएनन् ।
संघको ३६ औं महधिवेशनमा २७३१ सदस्य मतदातामध्ये अध्यक्ष र पदाधिकारीका लागि २२७४ मत खसेको थियो । सोमबार साँझ अन्तिम नतिजामा निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले हराउँदै शोभा निर्वाचित भएकी हुन् ।
मतपरिणाम अनुसार दोस्रोमा अर्जुन पोखरेल, तेस्रोमा उत्तममान बुद्धाचार्य र चौथोमा बलराम आचार्य सीमित रहे । अध्यक्षका प्रत्यासीहरु गौतम र आचार्यले भने प्यानल नै बनाएर चुनाव लडेका थिए ।
गौतमले ७५१ मत प्राप्त गर्दा पोखरेलले ६३७ मत ल्याए । बुद्धाचार्यको ६०१ र आचार्यको २५३ मत रहेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । तीमध्ये उपाध्यक्ष (उद्योग) मा निर्वाचित थापा भने गौतम प्यानलका हुन् ।
१० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए ।
४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताए । संघको कार्यकाल २ वर्षको हुनेछ ।

लेखकको सम्वन्धमा