चर्चामा

२३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

२३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी
0 0
Read Time:3 Minute, 22 Second

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्टले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको छ । आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको हो ।

भदौ २३ को जेन जी आन्दोलनको भोलिपल्ट २४ गते भएको आगजनी ध्वंसबाट सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएका छन् ।

 

आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

 

कोइरालाका अनुसार आइतबार सर्वोच्चको फुलकोर्ट बैठकले निर्णय गरिसकेको र एक दुई दिनमै आगजनी र तोडफोडमा क्षति भएका अदालतहरुले आ-आफ्नो जिल्लाको प्रहरी कार्यालयमा जाहेरी दिने छन् ।

सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीमा संलग्न कतिपयको पहिचान भइसकेको छ भने सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराबाट थप पहिचान गर्न सकिने अवस्था रहेको जनाइएको छ ।

आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।

अदालतले क्षतिको विवरणसहित जाहेरी दिने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा पनि क्षतिको विवरण बुझाउने फुलकोर्टको निर्णय छ । सर्वोच्च बाहेक अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन् ।

आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक कुनै पनि काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि काम नलाग्ने भएको छ ।

जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन्। जलेका सवारीसाधानमा चार पाँग्रे १२९ वटा रहेका छन् ।

सर्वोच्च अदालतका ४३, उच्च अदालतका न्यायाधीशका २३, जिल्ला अदालतका न्यायाधीशका २५ वटा र मातहतका अदालतका ३८ वटा छन् । २२३ वटा मोटरसाइकल र ७० वटा स्कुटर पनि जलेका छन् । यी सबै क्षतिको विवरणसहित जाहेरी दिने अदालतको तयारी छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %