चर्चामा

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना राष्ट्रविरुद्धको नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना राष्ट्रविरुद्धको नियोजित षड्यन्त्र हो : रमेश लेखक
0 0
Read Time:2 Minute, 59 Second

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २४ गते देशमा घटेका हिंसात्मक घटनालाई राष्ट्र, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानविरुद्धको नियोजित षड्यन्त्रको संज्ञा दिएका छन् । उनका अनुसार यस्ता घटनाहरू कुनै पनि देशभक्त नेपालीले कल्पनासमेत गर्न नसक्ने खालका हुन् ।

 

सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष पेस गरिएको लिखित धारणा मार्फत लेखकले राजीनामा पश्चात् भदौ २४ मा भएका गतिविधिहरू गम्भीर राष्ट्रविरोधी प्रकृतिका रहेको बताएका हुन् । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनलगायत राज्यका प्रमुख निकाय तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि गरिएको आक्रमण नेपाली मनोवृत्तिबाट सम्भव नहुने उनको दाबी छ ।

 

लोकतन्त्रमा शक्ति सन्तुलन र शक्तिको पृथकीकरणको सिद्धान्तका प्रतीक प्रतिनिधि संस्थामाथि भएको आक्रमण जेनजी पुस्ताको सोच वा योजनाभन्दा पूर्णतः बाहिरको विषय भएको उल्लेख गर्दै लेखकले यसलाई सुनियोजित षड्यन्त्रका रूपमा मूल्यांकन गरेका छन् । “यो राष्ट्र र लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण हो भन्ने मेरो ठम्याइ छ,” उनले लिखित धारणा मा उल्लेख गरेका छन् ।

गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको व्यक्तिका हैसियतले ती दुःखद घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको भन्दै लेखकले पदीय नैतिक जिम्मेवारी स्वीकार गरेको बताएका छन्। ठूलो पीडाबोधका कारण नै गृहमन्त्री पदमा रहेको व्यक्तिले नैतिक आधारमा जिम्मेवारी लिनुपर्छ भन्ने दृढ विश्वासका साथ आफूले तत्काल राजीनामा दिएको उनको तर्क छ ।

लेखकले भदौ २३ को घटनाको सन्दर्भमा आफू गृहमन्त्री रहेको स्वीकार गर्दै संविधान, प्रचलित कानुन तथा गृह मन्त्रालयसँग सम्बन्धित सरकारी नीतिको परिधिभित्र रहेर सदैव असल मनसायका साथ काम गरेको स्पष्ट पारेका छन्। साथै व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीप्रति आफू कहिल्यै विमुख नभएको उनले दोहोर्‍याएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %