संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने अडान राख्दै विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन् ।
बैठकको सुरुआतमै विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न–उत्तरको माग गर्दै भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ का नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए ।
‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुपर्ने मागसमेत गर्दै आएका छन्। यही विषयलाई लिएर संसदमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरिरहेका छन् ।
सभामुखको रुलिङपछि प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ ।

लेखकको सम्वन्धमा