चर्चामा

मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी

मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी
0 0
Read Time:5 Minute, 59 Second

पोखरा । पोखरा महानगरपालिका–१३ अन्तर्गत पर्ने ढाँडबेसी, लामखेत तथा आसपासका बस्तीहरू विजयपुर खोलाको उचित व्यवस्थापन, मोटरेबल पुल निर्माण र सडक स्तरोन्नति नहुँदा आजसम्म पनि विकासको मूलधारबाट पछाडि परेका छन् । महानगरपालिकाको केन्द्र न्यूरोडबाट करिब ११ किलोमिटरको दूरीमा रहेका यी क्षेत्रहरू कृषिजन्य उत्पादनका लागि उर्वर मानिए पनि सडक तथा पुलको अभावले स्थानीयवासी वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् ।

हिउँदमा खोला सामान्य रहे पनि बर्खा लाग्नेबित्तिकै विजयपुर खोला उर्लिएर वारपार गर्न कठिन हुने गरेको छ । पुल नहुँदा विद्यार्थी, किसान, बिरामी तथा सर्वसाधारणले दैनिक आवतजावतमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि समस्या समाधानतर्फ प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ ।

स्थानीय राम देवकोटा, नवराज बराल, राम बहादुर अधिकारी, लाल बहादुर नेपाली लगायतका अनुसार विजयपुर खोलाको व्यवस्थापन नहुँदा कृषिजन्य उत्पादन समयमै बजारसम्म पुर्‍याउन सकिएको छैन । यसले किसानको उत्पादन लागत बढ्नुका साथै स्थानीय आर्थिक गतिविधि समेत प्रभावित भएको छ । “खोलाको उचित व्यवस्थापन र मोटरेबल पुल निर्माण भए ढाँडबेसी मात्र होइन, आसपासका धेरै बस्तीको विकासले गति लिनेछ,” उनीहरूले बताए ।

विजयपुर खोलामा पुल निर्माण भए ढाँडबेसी, लामखेत, मछखेत, डिहीगाउँ, विजयपुर, लामडाँडा, मौजा, मोहोरिया लगायतका बस्तीका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ । साथै पोखराबाट बयरघारी, काब्रेडाँडा हुँदै तप्राङ, सिक्लेश, दुधपोखरी लगायतका पर्यटकीय क्षेत्रसम्मको पहुँच पनि सहज हुने स्थानीयको भनाइ छ ।

निर्माण समितिका सदस्य श्रीधरलाल बरालका अनुसार केही वर्षअघि स्थानीयवासीले आफ्नै लगानीमा सिस्सुवाँरादेखि ढाँडबेसीसम्म सवारी आवतजावत सहज बनाउन अस्थायी संरचना निर्माण गरेका थिए । तर पहिरोले उक्त संरचना बगाएपछि यातायात पुनः अवरुद्ध भएको छ । सरकारी निकायको बेवास्ताका कारण स्थानीयले आफ्नै स्रोतबाट समस्या समाधान गर्न खोजे पनि त्यो दिगो हुन नसकेको उनको भनाइ छ ।

स्थानीयका अनुसार विजयपुर खोलामा मोटरेबल पुल निर्माण र खोलाको वैज्ञानिक व्यवस्थापन हुन सके कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा समग्र ग्रामीण विकासमा उल्लेखनीय टेवा पुग्नेछ । उनीहरूले अब ढिलाइ नगरी सम्बन्धित निकायले योजना अघि बढाउन माग गरेका छन् ।

पर्यटन प्रवर्द्धनका ठूला-ठूला भाषण छाँट्ने र यही भूगोलको मत जितेर मन्त्री तथा सांसदको कुर्सीसम्म पुग्नेहरूलाई आफ्नै क्षेत्रका नागरिकको दैनिक सास्तीबारे थाहा नहुनु झनै विडम्बनापूर्ण छ । पोखरा महानगरकै केन्द्रबाट जम्मा ११ किलोमिटर दूरीमा रहेको ढाँडबेसी र विजयपुर खोलाको यो दुरावस्थाले माथिल्लो तहका जनप्रतिनिधिको प्राथमिकता कहाँ छ भन्ने स्पष्ट पार्छ । पर्यटकीय सम्भावनाले भरिपूर्ण यस क्षेत्रमा ठूला बजेट र योजना पारेर पुल तथा सडक स्तरोन्नति गर्न माथिल्लो निकायले देखाएको उदासीनताले “पर्यटकीय नगरी’को नारालाई गिज्याइरहेको छ ।

यस विषयमा पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले विजयपुर खोलाको व्यवस्थापन, मोटरेबल पुल निर्माण तथा आर्वा अमलाचौरको ‘नागेश्वरको बोट’देखि ढाँडबेसीस्थित ‘आर्वा विजय माध्यमिक विद्यालय’सम्मको जीर्ण बाटो स्तरोन्नति स्थानीयको प्रमुख आवश्यकता रहेको स्वीकारेका छन् । स्थानीयसँगको कुराकानीका क्रममा वडाध्यक्ष बरालले वडाको सीमित स्रोत-साधनले मात्र यो ठूलो बजेटको आयोजना सम्पन्न गर्न कठिन हुने भएकाले माथिल्लो सरकार, मन्त्रालय र सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बताएका छन् । वडा कार्यालयले आफ्नो तर्फबाट ताकेता गरिरहेकाले ठूला बजेटका योजना स्वीकृत गराएर विजयपुर खोलाको स्थायी व्यवस्थापन र जीर्ण बाटोको मर्मत कार्यलाई छिट्टै अगाडि बढाउने आश्वासन उनले दिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %