ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
११ असोजमा भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई भारतीय प्रहरी सहयोगमा नेपालमा ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको थियो । सोमबारको बयानपछि मंगलबार थुनछेक बहससँगै अदालतले यस्तो आदेश आएको हो । सहकारीको शाखा कार्यालय कास्कीमा समेत भएको र यहाँ समेत उजुरी परेकोले नेपालीलाई कास्की जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ ।
सहकारीका संस्थापक अध्यक्ष नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै सोही बराबरको बिगो माग गरी अदालतमा अभियोग दायर भएको छ । कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । यसरी कास्की र बागलुङमा गरी बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुख्य प्रतिवादी बनाइएका नेपाली १६ महिनादेखि फरार थिए । उनलाई पक्राउ गर्न गत वर्ष माघमा रेड कर्नर नोटिसमेत जारी भएको थियो ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ । शाखा कार्यालयहरू पोखराको सिर्जनाचोक तथा बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।
यस्तै, सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका ओमबहादुर नेपाली (ओमप्रसाद दर्जीं) भने डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी देवकुमारका भाइ हुन् ।
सहकारी ठगी अभियोगमा सहकारीका पदाधिकारी चित्रबहादुर भण्डारी, शक्ति किसान, डोरबहादुर परियार, लालमती बुढा, लक्ष्मी सेन र अनिता बुढामगर भने यसअघि नै पुर्पक्षका लागि बागलुङ कारागारको थुनामा छन् ।
लेखकको सम्वन्धमा