समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
बुटवल । नेपाली कांग्रेसका उपसभापति डा.चन्द्रकान्त भण्डारीले पार्टीभित्र देखिएका असमझदारी समयक्रमसँगै अन्त्य हुँदै कांग्रेस थप एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै एकअर्काविरुद्ध टीकाटिप्पणी तथा गालीगलौजमा नउत्रिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपसभापति भण्डारीले कांग्रेसको भविष्य एकता र सहकार्यमा रहेको बताए। उनले पार्टीभित्र अहिले देखिएका फरक मतलाई स्वाभाविक रूपमा लिँदै संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै भण्डारीले थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विश्वास व्यक्त गरे । बजारमा फैलिएका हल्लाको पछि नलागी पार्टीको हित र संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
विगतका घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा भण्डारीको जोड
कार्यक्रममा उपसभापति भण्डारीले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) ले चाहेको प्रमुख प्रशासकीय अधिकृत नपठाइएका कारण मुलुकमा अहिलेको राजनीतिक परिस्थिति र जेनजी विद्रोहको अवस्था सिर्जना भएको दाबी गरे ।
आफूले तत्कालीन प्रधानमन्त्री, मुख्यसचिव तथा विभिन्न दलका शीर्ष नेताहरूलाई भेटेर बालेनले माग गरेका प्रशासकीय अधिकृत पठाउन आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए ।
विगतका घटनाबाट पाठ सिक्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै भण्डारीले सामाजिक सञ्जालमा भ्युज बढाएर मात्रै सरकार सञ्चालन गर्न नसकिने बताए ।
“हामीले विगतबाट पाठ सिकेर मेहनतका साथ काम गर्नुपर्ने अवस्था छ,” उनले भने, “सामाजिक सञ्जालमा भ्युज बढाएर मात्रै सरकार चल्दैन, जनताको प्रत्यक्ष काम गरेर देखाउनुपर्छ ।”
विगत ३५ वर्षमा केही काम नै भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए । देशमा भएका विकास निर्माण र उपलब्धि विगतका प्रयास तथा निरन्तर कामको परिणाम भएको उनको भनाइ थियो ।
“हामीले बनाएको घरभित्र बालेन आएका हुन्। केपी ओलीले कीर्तिपुरको क्रिकेट स्टेडियम बनाउन मेहनत गर्नुभयो र आज बालेनले एनपीएल (NPL) उद्घाटन गर्न पाएका हुन्। आफूले टुँडिखेलमा रोपेको दुबो मात्रै देख्ने, काम नगर्ने ?” उनले प्रश्न गरे ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि एकजुट हुन कांग्रेस नेताहरूको आग्रह
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनको मर्मविपरीत रहेको बताए । पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन नेता तथा कार्यकर्ताले आफ्नो सोच, व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले वर्तमान सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई दबाउने दिशामा अघि बढेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकुमारी भण्डारी, लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, प्रदेश कोषाध्यक्ष प्रकाश रानालगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए ।
उनीहरूले पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा सरकारका गलत निर्णय र कदमहरूको तथ्यपरक रूपमा खण्डन गर्दै आम नागरिकसम्म सही सूचना पुर्याउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

लेखकको सम्वन्धमा