चर्चामा

पोखरा बसपार्कस्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा सारिने

0 0
Read Time:3 Minute, 41 Second

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ । बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने ‘संयुक्त आवास’ मा स्थानान्तरण गर्ने योजनाअनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागिएको हो ।

महानगरका मेयर धनराज आचार्यका अनुसार बसपार्क क्षेत्रका सुकुम्बासी टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढिसकेको छ । ‘हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ,’ उनले भने । विद्यालयको भविष्यलाई लिएर नागरिक र सरोकारवालाहरूबाट व्यक्त चासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले यसलाई महानगरको दीर्घकालीन योजनाको रूपमा व्याख्या गरे ।

 

यस योजनाको पूर्वतयारी स्वरूप नै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सो विद्यालयमा रहेको मतदान केन्द्रलाई परिवर्तन गरिएको उनले जानकारी दिए । उक्त मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा सार्ने काम कुनै आकस्मिक निर्णय नभएको उनले प्रस्ट पारे । ‘यो बसपार्क निर्माणको दीर्घकालीन योजना र कार्यान्वयन प्रक्रियाकै एउटा हिस्सा हो,’ आचार्यले बताए ।

पोखरा बसपार्कलाई आधुनिक र सुविधासम्पन्न बनाउने परियोजनाको काम योजनाबद्ध रूपमा अगाडि बढिरहेको उनले उल्लेख गरे । यसका लागि आवश्यक परियोजना व्यवस्थापन, बजेट सुनिश्चितता र भौतिक पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन् । विकास र व्यवस्थापनको यो महाअभियानमा सबै पक्षको सकारात्मक सहयोग र सद्भावको अपेक्षा गरिएको उनले बताए ।

पोखराको गौरव र पहिचानसँग जोडिएको यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न महानगरपालिका निरन्तर प्रतिबद्ध र क्रियाशील रहेको उनको दाबी छ । ‘परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न हामी लागिपरेका छौँ,’ उनले भने । महानगरले बसपार्क क्षेत्रको विकासका लागि आवश्यक सबै प्रक्रिया र तथ्यांकहरूको विश्लेषण गरेर नै काम अगाडि बढाएको उनले उल्लेख गरे ।

यसअघि विद्यालय र त्यहाँको बस्तीलाई लिएर विभिन्न जिज्ञासाहरू उठ्दै आएका थिए । महानगरले ती जिज्ञासाहरूको सम्बोधन गर्दै विद्यालयलाई थप सुविधासम्पन्न बनाएर नयाँ बस्तीमा लैजाने सुनिश्चितता गरेको हो । बसपार्क निर्माणको काम सम्पन्न भएपछि यो क्षेत्रको स्वरूप बदलिने र नागरिकले आधुनिक सुविधा पाउने विश्वास आचार्यले व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %