हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो
बुटवल । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा जारी २०२६ फिफा विश्वकप अन्तर्गत न्यूयोर्क न्यू जर्सी स्टेडियममा सम्पन्न नकआउट चरणको रोमाञ्चक खेलमा एउटा ठूलो उलटफेर भएको छ ।
स्टार स्ट्राइकर इर्लिङ हल्यान्डको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २-१ ले पराजित गर्दै ऐतिहासिक रूपमा क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। विश्वकपको इतिहासमा नर्वे पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो भने ब्राजिलका लागि सन् १९९० पछिको यो सबैभन्दा खराब र चाँडो भएको बहिर्गमन हो ।
खेलको सुरुवाती समयमै ब्राजिलले खेलमा पकड बनाउने सुवर्ण अवसर पाएको थियो । खेलको १३औं मिनेटमा प्राप्त पेनाल्टीलाई ब्राजिलका मिडफिल्डर ब्रुनो गुइमारेसले गोलमा परिणत गर्न सकेनन्, जसलाई नर्वेका गोलकिपर ओर्जान निल्यान्डले उत्कृष्ट बचाउ गरे । खेलको दोस्रो हाफमा नर्वेले आक्रामक लय समात्यो । ७९औं मिनेटमा आन्द्रेयास शेल्डेरुपको पासलाई सदुपयोग गर्दै हल्यान्डले नर्वेलाई १-० को अग्रता दिलाए । लगत्तै ८९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि नर्वेको ऐतिहासिक जित सुनिश्चित भएको थियो ।
खेलको इन्जुरी समय (९०+९० मिनेट) मा ब्राजिलले पुनः पेनाल्टी पायो, जसमा स्टार फरवार्ड नेयमारले गोल गरे पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन । यो नतिजासँगै विश्वकप इतिहासमा ब्राजिलले नर्वेलाई कहिल्यै हराउन नसकेको अनौठो कीर्तिमान कायम नै रहेको छ ।
यसअघि सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २-१ ले नै हराएको थियो । अब सेमिफाइनल प्रवेशका लागि नर्वेले मेक्सिको र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

लेखकको सम्वन्धमा