मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत
तस्बिरः श्रीभद्र पौडेल
पोखरा । मानवसेवा आश्रमले हेमजाको बाबियाँतरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट ३ करोड ४ लाख रुपैयाँ बचत भएको छ । मानवसेवा आश्रम हेमजाको सेवा सहजता, दिगोपना, क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित १९ देखि २६ वैशाखसम्म चलेको सो महायज्ञ आश्रमको १३ औं संस्करणको महायज्ञ थियो ।
सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महायज्ञको आय–व्यय सार्वजनिक गरिएको हो । महायज्ञमा ३ करोड ८१ लाख ७१ हजार ७७१ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर सो रकम बचत हुन आएको आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए । अब व्यक्तिगततर्फ प्रतिबद्धता गरेअनुसार १ करोड ९ लाख, संस्थागत प्रतिबद्धता २ लाख ८८ हजार र स्थानीय तह नगरपालिकाले गरेको प्रतिबद्धताअनुसारको ३२ लाख उठ्न बाँकी रहेको अधिकारीले बताए ।
‘सबै रकम उठ्ने निश्चित जस्तै छ, उहाँहरुले लिखित प्रतिबद्धता जनाउनुभएको छ,’ पत्रकार सम्मेलनमा अधिकारीले भने । उनले महायज्ञमार्फत आर्थिक संकलन अलावा मानवता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको स्पष्ट पार्दै लक्ष्य प्राप्तिमा सफल भएको दाबी पनि गरे । ‘धेरैले योगबारे ज्ञान हासिल गरे । हजारौं विद्यार्थीलाई मानवताबारे जानकारी दिइयो,’ उनले भने, ‘दिउँसो पूरै कथा प्रवचन भयो र साँझ भजनकीर्तनमा भक्तजन रमाइलो गरे, यो पनि यज्ञको सफलता हो ।’
उनले संकलित रकममध्ये अक्षयकोष बृद्धिका लागि ४९ लाख ७३ हजार, मुक्तिनाथ सेवा धर्मशाला निर्माणका लागि २१ लाख १८ हजार खर्चिने बताए । यस्तै, १ करोड ४२ लाख ८२ हजार भवन निर्माण सम्पन्नता, २ लाख ७५ हजार लक्ष्मीनारायण मन्दिर निर्माण र १२ लाख ५१ हजार महायज्ञ व्यवस्थापनमा खर्च गरिनेछ ।
मूल आयोजक समिति संयोजक अनिलकुमार शाहीले सरोकारवाला सबैको सहयोग, सद्भावले यज्ञ सफल भएको जनाउँदै मानवसेवा नै ठूलो धर्म भएको धारणा राखे ।
उपसंयोजक धर्मराज बास्तोलाले आश्रमको लक्ष्य विशाल रहेको उल्लेख गर्दै नाना, खाना तथा छानाको अभावमा बाँचेकाहरुलाई आश्रमले सेवा दिँदै आएको स्पष्ट पारे ।
सहसंयोजक सुष्मा पौडेलले यज्ञमा पारदर्शिता अपनाइएको दाबी गर्दै निःशुल्क साथ दिएकामा प्रेसजगतलाई धन्यवाद दिइन् ।
कोषाध्यक्ष मीना कुँवरले यज्ञमार्फत मानवता प्रवद्र्धन गर्न खोजिएको उल्लेख गर्दै आश्रमका गतिविधिमा साथ दिन आह्वान गरिन् ।
मूल आयोजक समिति संयोजक शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहसंयोजक पौडेलले स्वागत र मूल आयोजक समिति सचिव पदमबहादुर केसीले कार्यक्रम संचालन गरे ।
२०६९ सालमा हेटौंडाबाट सेवा शुभारम्भ गरेको मानव सेवा आश्रमका हाल २३ जिल्लामा ३४ शाखा सञ्चालित छन् । कास्कीमा हेमजा र छोरेपाटन गरी २ शाखा सञ्चालित छन् । ती शाखामा हाल कुल २ सय ५४ सहयोगापेक्षी आश्रित छन् ।

लेखकको सम्वन्धमा