चर्चामा

पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण

पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
0 0
Read Time:2 Minute, 43 Second

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा आह्वानमा सङ्कलित रकमबाट खरिद गरिएका भान्साका भाँडाकुँडा तथा राहत सामग्री मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको हो ।

कवाडी व्यवसायीहरूबाट सङ्कलित रकममध्ये ८ लाख रुपैयाँको सामग्री खरिद गरिएको र ढुवानी खर्चसहित कुल १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइएको अभियानका संयोजक सुजन गुरुङले जानकारी दिए ।

बाढीका कारण पकाउने ग्यास, भाँडाकुँडासमेत बगाएर बिचल्लीमा परेका १ सय ६५ परिवारलाई पुग्ने गरी सामग्री उपलब्ध गराइएको छ । जसअन्तर्गत १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान तरकारी पकाउने कराई, १ सय ६५ थान डाडु, १ सय ६५ थान पन्यूँका साथै ६–६ सय थान थाल, कचौरा, गिलास र चम्चा रहेका छन् । भाँडाकुँडाका अतिरिक्त लत्ताकपडा, सिरक र डसनासमेत सहयोग सङ्कलन गरिएको छ ।

‘भोटेकोशीको बाढीले बिचल्ली बनाएका दाजुभाइ दिदीबहिनीको चुलो बल्न सकोस् र घाउमा थोरै भए पनि मलम लागोस् भन्ने उद्देश्यले पोखराका कवाडी व्यवसायी साथीहरूलाई एकजुट बनाएर यो सहयोग जुटाएका हौँ,’ व्यवसायी गुरुङले भने ।

सामग्री बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवाडी व्यवसायीहरूको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे। विपद् साझा पीडा भएको उल्लेख गर्दै उनले पोखराका कवाडी व्यवसायीले देखाएको आत्मीयता र सहयोग प्रशंसनीय रहेको बताए ।

महानगरपालिकाले प्राप्त भान्सा सामग्रीलाई प्रतिपरिवार प्याकेजका रूपमा तयार गरी ३ वटा गाडीमार्फत प्रभावित क्षेत्रतर्फ पठाएर वास्तविक पीडितको हातमा पुर्‍याउने तयारी गरिसकेको जनाएको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %