कृष्णभिरमा कटानको काम सकियो, असोज १ अघि नै पृथ्वी राजमार्ग खुलाउने तयारी
पोखरा । त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा भासिएको पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ । भिर कटानको काम सकिएकाले अब सडकको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी छ। मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भित्ता काट्ने काम सकिइसकेको छ । अब राजमार्गको स्लोप र सर्फेस मिलाउन बाँकी छ। त्यसपछि कम्प्याक्सन गर्दै ग्राबेल गरेर राजमार्ग सञ्चालनमा ल्याइनेछ ।
कामको गति यही रहेमा २ वा ३ दिनभित्रै सडक खुल्न सक्ने सम्भावना छ । आयोजनाले बढीमा असोज १ गतेसम्म राजमार्ग चलाउने लक्ष्य राखेको छ । १० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटेपछि राजमार्ग खुलाउने आधार तयार भएको हो। भिरको माथिल्लो भागदेखि नै स्लोपमा काटिएकाले सतहमा आइपुग्दा सडक १० मिटर फराकिलो बनेको छ ।
राजमार्ग खुलाउन अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरजस्ता उपकरणहरु निरन्तर प्रयोग भइरहेका छन् । आयोजनाका इन्जिनियर धिरण ढकालले दिनरात नभनी काम भइरहेको बताए । सडक खुला भएपछि पहिलो प्राथमिकता एलपी ग्यासका बुलेट, खाद्यान्न, औषधि बोकेका गाडी र एम्बुलेन्सलाई दिइनेछ ।
गत भदौ १४ गते राजमार्ग भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास तथा खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भएको छ। वैकल्पिक मार्गहरुबाट पर्याप्त आपूर्ति हुन नसक्दा राजधानीमा समस्या बढेको हो । कृष्णभिरमा २०५७ सालदेखि नै पहिरो र सडक भासिने समस्या आउने गरेको थियो। केही वर्ष शान्त रहे पनि भदौ १४ को घटनापछि पुनः आवागमन ठप्प भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने दैनिक १५ हजार हाराहारीका सवारीसाधन रोकिएका छन् । यसरी प्रभावित भएका गाडीहरुमध्ये मालवाहक र खाद्यान्न बोक्ने सवारी साधनको संख्या मात्रै करिब ४ हजार रहेको छ ।

लेखकको सम्वन्धमा