पोखरा–दुबई सिधा उडान असोज ७ देखि, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय नगरी
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई सिधा व्यावसायिक उडान सुरु हुने भएको छ। वैदेशिक उड्डयन सेवा प्रदायक कम्पनी ‘फ्लाई दुबई’ ले साँझ ६:१५ बजे पोखरामा पहिलो अवतरण गर्ने गरी उडान कार्यतालिका सार्वजनिक गरेको हो ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा विमानस्थलमा अवतरण गर्ने जहाज र यात्रुलाई पानीको फोहरा (वाटर क्यानन) सहित स्वागत गर्ने तयारी गरिएको छ। दुबईबाट आएको जहाज पोखराबाट यात्रु तथा कार्गो लिएर सोही दिन साँझ ७:१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्नेछ ।
उडान, क्षमता र टिकट दर
विमान तथा क्षमता: उडानका लागि १४० देखि १५० सिट क्षमताको एयरबस ३१९ र १६० देखि १८० सिट क्षमताको एयरबस ३२० आलोपालो प्रयोग हुनेछ ।
उडान तालिका: दैनिक साँझ ६:१५ बजे पोखरा अवतरण र ७:१५ बजे दुबई प्रस्थान ।
प्रतिकूलता र भाडा: काठमाडौँको तुलनामा पोखराबाट हुने उडानको टिकट दर प्रतिव्यक्ति रु. ५,००० सम्म सस्तो रहने फ्लाई दुबईका नेपाल प्रतिनिधिले जनाएका छन् ।
बुकिङ अवधि: कम्पनीले सन् २०२७ मार्च २६ सम्मका लागि अग्रिम बुकिङ खुला गरिसकेको छ ।
इमिरेट्ससँगको साझेदारी र सहज यात्रा
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीका कारण पोखराबाट उड्ने यात्रुले एउटै टिकटमा दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न २५० भन्दा बढी सहरसम्मको सहज यात्रा गर्न सक्नेछन् । यसले ट्रान्जिटमा हुने झन्झटलाई पूर्ण रूपमा हटाउनेछ ।
पर्यटन र अर्थतन्त्रमा राहतको अपेक्षा
नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते नै उडान अनुमति दिएको यो सेवाबाट गण्डकी प्रदेश र आसपासका क्षेत्रका वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा जाने नागरिक लाभान्वित हुनेछन् । स्थानीय निकाय, पर्यटन व्यवसायी तथा पर्यटन बोर्डले यो उडानलाई दिगो बनाउन बजारीकरण र पर्यटकीय प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको छ।

लेखकको सम्वन्धमा