पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला
पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला भएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गरी ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको भू–उपयोग वर्गीकरणको काम सकिएपछि कित्ताकाटको बाटो खुलेको जानकारी गराएको हो ।
पोखरा महानगरपालिका, भूमि प्रशासन कार्यालय र नापी कार्यालयसहितको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया पूरा गरी कित्ताकाट खुला गरिएको जानकारी पोखरा महानगर प्रमुख धनराज आचार्यले दिए ।
महानगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलबाट प्रमाणीकरण गरी वर्गीकरणको अन्तिम विवरण सम्बन्धित नापी तथा भूमि प्रशासन कार्यालयलाई बुझाइसकिएको छ । कित्ताकाट रोकिँदा जग्गाको कारोबार प्रभावित भएको थियो ।
‘कित्ताकाट खुल्ला भएको छ,’ महानगर प्रमुख आचार्यले भने, ‘पोखरा महानगरपालिकाका ३३ वटै वडाका झण्डै ७ लाख कित्ताको भू–उपयोग वर्गीकरण सम्पन्न भएको छ ।’ महानगरभित्रको जग्गा प्रकृति अनुसार १२ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ । जसमा आवासीय, कृषि, व्यावसायिक, औद्योगिक र खानी तथा खनिज क्षेत्र छन् । यस्तै निर्माण सामग्री उत्खनन, सांस्कृतिक तथा पुरातात्विक महत्व, ताल र नदी–नाला क्षेत्रका रुपमा पनि जग्गा छुट्याइएको छ। वन, सार्वजनिक उपयोग, जोखिम क्षेत्र र सरकारी आबादी गरी वर्गीकरण कार्य टुंगो लागेको मेयर आचार्यले जानकारी दिए ।
यसअघि महानगरपालिकाले भू–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ (संशोधनसहित) बमोजिम वडा नम्बर ११, वडा नम्बर १३ देखि वडा नम्बर ३३ सम्मको अन्तिम भू–उपयोग वर्गीकरण विवरण तयार पारेको थियो ।
स्थानीय भू–उपयोग परिषद्को सिफारिस तथा नगरकार्यपालिकाको निर्णय बमोजिम वर्गीकरण विवरण स्थानीय राजपत्रमा समेत प्रकाशित गरिसकिएको छ ।
‘लामो समयदेखि आम नागरिकको चासो र प्रतीक्षाको विषय बनेको “कित्ताकाट कहिले खुल्छ ?” भन्ने प्रश्नको अन्त्य भएको छ,’ प्रमुख आचार्यले थपे, ‘यसबाट जग्गा कारोबार तथा नागरिकका आवश्यक कामहरू सहज हुने विश्वास लिएका छौँ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कास्की र लेखनाथस्थित भूमि प्रशासन तथा नापी कार्यालयलाई पत्र पठाउँदै स्थानीय राजपत्रमा प्रकाशित विवरणका आधारमा कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्य अगाडि बढाउन अनुरोध गरेका छन् ।
वर्गीकरण विवरणअनुसार सम्बन्धित कार्यालयबाट जग्गा प्रशासन र कित्ताकाटका आवश्यक कामहरू अब नियमित रूपमा अघि बढ्नेछन् ।

लेखकको सम्वन्धमा