चर्चामा

आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै
0 0
Read Time:3 Minute, 2 Second

पोखरा । आज आश्विन सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउने परम्परा रहेको छ ।

यस पर्वमा विशेषगरी कालिगढ, मेकानिक, चालक, प्राविधिक तथा उद्योग–व्यवसायसँग आबद्ध व्यक्तिहरूले आफूले प्रयोग गर्ने औजार र उपकरणको पूजा गर्ने गर्दछन्। आजका दिन पूजा गरिएका उपकरण तथा यन्त्र लामो समयसम्म टिक्ने, कामका क्रममा कम समस्या आउने र कार्यक्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिएको र त्यसै समयदेखि उनको पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्र सम्बन्धी ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही परम्परा र आस्थाअनुसार नेपालभरका कालिगढ, उद्योगी, व्यवसायी तथा सवारीसाधन व्यवसायसँग आबद्ध व्यक्तिहरूले आज विश्वकर्मा बाबाको पूजा गरी उनको ज्ञान, सीप र विद्वत्ताप्रति सम्मान व्यक्त गरिरहेका छन् । आधुनिक युगमा इन्जिन जडित सवारीसाधन, निर्माण उपकरण, उद्योगका मेसिन तथा अन्य यान्त्रिक सामग्रीको समेत विशेष पूजा–आराधना गर्ने चलन रहेको छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %