संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन् । गत मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाह महासभामा सम्बोधन तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी स्वदेश फर्किएका हुन् ।
उनलाई स्वागत गर्न विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल पुगेका थिए ।
महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । विशेषगरी हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको प्रभाव, विनाशकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिलाई उनले अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाएका थिए ।
आफ्नो सम्बोधनमा शाहले ‘हिमालयको सुनामी’ को प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले नेपालजस्ता मुलुकमा निम्त्याएको विनाशको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने बताएका थिए। जलवायु संकटप्रति विश्व समुदाय समयमै गम्भीर नभए भविष्यमा सम्पूर्ण मानव सभ्यताले यसको ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो ।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
हिमालय क्षेत्रको संरक्षण र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको सहभागितामा ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्ने प्रस्तावसमेत अघि सारेका थिए । हिमालय कुनै एक देशको मात्र नभई विश्वकै पर्यावरणीय सन्तुलन र मानव जीवनसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहले विश्वका नेताहरूलाई युद्ध र हातहतियारमा भइरहेको लगानी मानव कल्याण, दिगो विकास तथा खाद्य सुरक्षामा खर्च गर्नसमेत आग्रह गरेका थिए। उनले जलवायुजन्य विपद्पछि राहत र पुनःस्थापनामा मात्र केन्द्रित नभई क्षतिपूर्ति, उत्तरदायित्व र विपद् सामना गर्ने क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताएका थिए ।
जलवायु परिवर्तनका चेतावनीलाई निरन्तर बेवास्ता गरिए त्यसको परिणाम नेपालजस्ता जोखिममा रहेका मुलुकमा मात्र सीमित नरहने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई साझा जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरेका थिए ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय निकायका अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।

लेखकको सम्वन्धमा