चर्चामा

कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ

कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
0 0
Read Time:5 Minute, 17 Second

पोखरा । चाडपर्व (दसैँ–तिहार) सकिएलगत्तै कास्कीका प्रमुख पर्यटकीय गन्तव्यहरूमा घुम्न आउने पाहुनाको चहलपहल ह्वात्तै बढेको छ । विशेषगरी घान्द्रुक, सिक्लेस र ताङतिङ लगायतका ग्रामीण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको हो ।

​घान्द्रुकमा दैनिक ३ हजारमाथि पर्यटक

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा अवस्थित प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा यतिबेला दैनिक ३ हजारभन्दा बढी पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकको चाप दिनहुँ बढ्दो छ ।

​‘हिजो ३ हजारको हाराहारीमा पाहुना आएका थिए, आज झन् ३५ सयभन्दा बढी आउनुभएको छ,’ अध्यक्ष गुरुङले भने, ‘यो वर्ष केही नयाँ होटल थपिएकाले अघिल्ला वर्षहरूमा जस्तो व्यवस्थापनमा समस्या भएको छैन । अहिलेसम्म त धानिएको छ, तर योभन्दा बढी चाप बढेमा केही कठिन हुन सक्छ ।’

​हाल घान्द्रुकमा करिब ११० वटा होटल र ४० वटा होमस्टे सञ्चालनमा छन्, जहाँ दैनिक ३ हजार ५ सय पाहुनालाई सहजै बास बसाउन सकिन्छ । पर्यटकको उत्साहजनक आगमनले स्थानीय व्यवसायी हर्षित बनेका छन् भने गाउँका होटल तथा होमस्टेमा करिब ६ सय स्थानीयले प्रत्यक्ष रोजगारी पाएको समितिले जनाएको छ ।

​सिक्लेसमा क्षमताभन्दा बढी चाप, बुकिङ गरेर मात्र आउन आग्रह

कास्कीको अर्को आकर्षक गन्तव्य सिक्लेसमा पनि दैनिक १ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार तिहारलगत्तै कात्तिक २६ गते एकैदिन एक हजारभन्दा बढी पर्यटक सिक्लेस भित्रिएका थिए । बिहीबारको पर्यटक सूचना केन्द्रको तथ्यांकअनुसार १ हजार ३ सय २४ जना पर्यटक सिक्लेस पुगेका छन्, जसमा ९ जना विदेशी र बाँकी सबै स्वदेशी पर्यटक रहेका छन् ।

​बिना पूर्वजानकारी र अग्रिम बुकिङबिनै ठूलो संख्यामा पर्यटक पुग्दा स्थानीय होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजंग गुरुङ ‘पारस’ले बताए । उनले भने, ‘क्षमताभन्दा बढी पाहुना आउँदा व्यवस्थापनमा भ्याइनभ्याइ छ, तर घुम्न आएका कोही पनि पर्यटकलाई अलपत्र पर्न दिएका छैनौँ । गाउँका आफन्तका घरमा राखेर भएपनि पाहुनाको व्यवस्थापन गरेका छौँ ।’

​सिक्लेसमा हाल ३२ वटा होटल (१,२०० क्षमता) र ३७ वटा होमस्टे (३५० क्षमता) सञ्चालनमा छन् । गाउँका अन्य घरहरूमा समेत मिलाउँदा एक दिनमा करिब २ हजार पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए । तर, पाहुनाको चाप अत्यधिक भएकाले सिक्लेस यात्रा गर्नुअघि सम्बन्धित होटल वा होमस्टेमा अग्रिम सम्पर्क र बुकिङ गरेर मात्र आउन समिति र वडा कार्यालयले अनुरोध गरेका छन् ।

​ताङतिङ र अन्य गाउँमा पनि उस्तै रौनक

सिक्लेसपारिको अर्को सुन्दर गाउँ ताङतिङमा पनि दैनिक ४ सयको हाराहारीमा पर्यटक पुगिरहेका छन् । ताङतिङस्थित अन्नपूर्ण कटेजका सञ्चालक भूपाल गुरुङका अनुसार गाउँमा रहेका १६ वटा होमस्टे र ९ वटा होटलले अहिलेको ४ सयको संख्यालाई धानिरहेका छन् ।

​‘यो वर्ष ताङतिङ आउने पर्यटकको संख्या निकै उत्साहजनक छ,’ सञ्चालक गुरुङले भने, ‘अहिलेसम्म त राख्न समस्या छैन, तर यही रफ्तारमा संख्या बढ्दै गए भोलि गाह्रो पर्न सक्छ । त्यसैले ताङतिङ आउनुअघि यहाँका व्यवसायीसँग जानकारी लिएर मात्र यात्रा तय गर्नु उचित हुन्छ ।’

​घान्द्रुक, सिक्लेस र ताङतिङसँगै कास्कीका ल्वाङ, घलेल, ह्याङ्जाकोट, धम्पुस र याङ्जाकोट लगायतका होमस्टे गाउँहरूमा पनि यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %