धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो ।
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताए ।


लेखकको सम्वन्धमा