हेमजा आलु महोत्सव आइतबारदेखि

फाइल फोटो ।
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतबारदेखि सुरु हुँदैछ । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लब अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।
त्यस्तै, कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारको प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजकले जनायो ।
महोत्सव सुरु हुनुपूर्व बाजागाजा, कृषि झाँकीसहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुनेछ । सो शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्ने कार्यक्रम छ ।
महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुने मूल आयोजक समितिका महासचिव हिम्मत थापाले जानकारी दिए ।
२०७८ को जनगणना अनुसार हेमजामा ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् ।
हेमजामा कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलुखेती गर्ने गरिन्छ । यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको बृहत् प्रदर्शन एवं प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रुपमा चिनाउने, क्लब भवन निर्माण, तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण, विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
महोत्सव ३ वैशाखसम्म संचालन हुनेछ । महोत्सव प्रवेशका लागि साधारणतर्फ ८० र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट लाग्नेछ । त्यस्तै, २ सयमा महोत्सव अवधिभरका लागि स्थानीय पाससमेत व्यवस्था मिलाइएको क्लबले जनायो ।
लेखकको सम्वन्धमा