स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण
विजयनगर । राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा २ सय ८७ विद्यार्थीलाई फलफूल र सरसफाई सामग्री वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीले बिहिबार स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण ३६ औँ स्थापना दिवस मनाएको छ ।
विजयनगर गाउँपालिका-४, शंकरपुर,देउपुरमा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई केरा, खरबुजा, कोलगेट पेस्ट र ब्रस वितरण गरिएको राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई फलफूल तथा सरसफाई सामग्री उपलब्ध गराइएको उनले जनाए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले राष्ट्रिय युवा संघले विद्यार्थीको हक, अधिकारका लागि समेत विभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । उनले समय-समयमा शैक्षिक सामग्री वितरण, सरसफाई अभियान, प्रतियोगिताको आयोजना जस्ता कार्यक्रमहरु गर्दै आएको बताउँदै स्थापना दिवसमा अध्ययनरत सबै विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री उपलब्ध गराई प्रशंसनीय काम गरेको बताए ।
अध्यक्ष थापाले शिक्षा भए मात्र समाजलाई परिवर्तन गर्न सकिने भन्दै मिहिनेतका साथ अध्यापनमा जोड दिनु विद्यार्थीलाई आग्रहसमेत गरे । उनले शिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै शैक्षिक सुधार, गुणस्तरीयता र प्रभावकारितामा जोड दिएको बताए ।
कार्यक्रममा नेकपा एमाले विजयनगर गाउँ कमिटी उपाध्यक्ष दिनेश कुमार चौधरी, सचिव गोकर्ण प्रसाद सापकोटा, सदस्य अनवर मोहम्मद मुसलमान, तिलकराम कँडेल, ४ वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार, राष्ट्रिय युवा संघ गाउँ कमिटी सचिव अर्जुन पोख्रेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिम खत्री, प्रधानाध्यापक पम्फा पाण्डे लगायतको उपस्थिति थियोे ।



लेखकको सम्वन्धमा