भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार बाढीपछि विभिन्न जलविद्युत आयोजनामा कार्यरत ८९८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ३६१ जनाको उद्धार गरिएको छ ।
माथिल्लो त्रिशूली–१ मा ठूलो संख्यामा श्रमिक प्रभावित
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ५७६ जना सम्पर्कविहीन भएकामा हालसम्म २५४ जनाको उद्धार गरिएको छ।
आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि सुरुङमार्गमा खोजी कार्य जारी रहेको इप्पानले जनाएको छ ।
रसुवागढीका ९३ जना अझै सम्पर्कबाहिर
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् । रसुवा भोटेकोशी जलविद्युत आयोजनाका चार जना पनि सम्पर्कमा आएका छैनन् ।
त्यस्तै, लाङ्टाङ खोला जलविद्युत आयोजनामा ४२ जना सम्पर्कविहीन भएकामा १८ जनाको उद्धार गरिएको छ। बाँकीको अवस्था अझै अज्ञात छ।
चिलिमे जलविद्युत आयोजनाका आठ जना र मैलुङ खोला जलविद्युत आयोजनाका सात जना कर्मचारी तथा श्रमिक पनि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ का ९१ जनाको जीवितै उद्धार
त्रिशूली जलविद्युत आयोजनाका एक जना र देवीघाट जलविद्युत आयोजनाका एक जना अझै सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाका ४२ जना सम्पर्कबाहिर रहेका छन् ।
माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ ।
त्यस्तै, मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजनाका दुई जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित आयोजनाका जनशक्ति परिचालन गरी सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

लेखकको सम्वन्धमा