चर्चामा

पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु

पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
0 0
Read Time:4 Minute, 26 Second

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको यस विमानस्थलमा यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । उनी भन्छन्, ‘हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ ।’

उडान तालिका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ । त्यसपछि सोही विमान यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । पहिलो पटक पोखरा विमानस्थलमा अवतरण गर्ने उक्त विमानलाई पानीको फोहराले भव्य स्वागत गरिने कार्यक्रम रहेको छ ।

अध्यागमन, भन्सार र कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ । पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलािसकिएको छ ।’

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको छ । फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने हुनाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने बलियो आशा गरिएको छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यसको महत्त्व स्पष्ट पार्दै भने, ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ ।’ उनका अनुसार नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पोखराबाटै उडान सञ्चालन हुँदा उनीहरूलाई धेरै सहज हुनेछ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएपछि आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले पनि विमानस्थलको निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलको सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमका प्रबन्ध मिलाइएको बताए । फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने विशेष तयारीसमेत गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %