फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
तस्बिरः राधिका कँडेल/रासस
पोखरा । संयुक्त अरब इमिरेट्स ९युएई० को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरामा अवतरण गरेको हो ।
पोखरा अवतरण गरेको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । ‘फ्लाई दुबईको यो नियमित सेवाले पोखरामा नयाँ आशा जगाएको छ,’ निरौलाले भने, ‘यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन सकेका थिएनन् ।’
फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे १ सय ५३ यात्रु लिएर दुबईतर्फ उड्ने तालिका रहेको निरौलाले जानकारी दिए । उनका अनुसार उडान तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरामा अवतरण हुनेछ । त्यसपछि साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि जहाज उड्नेछ ।
‘पोखराबाट दुबई हुँदै युरोप, अमेरिकालगायतका विभिन्न मुलुक जाने यात्रुलाई अब ठूलो सहजता थपिनेछ,’ महाप्रबन्धक निरौलाले भने, ‘यात्राअवधि छोटिँदा यात्रुको खर्च पनि घट्छ ।’ पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक सीधा आउन सक्नेछन् । यस्तै रोजगारी, अध्ययन र घुमफिरका लागि वैदेशिक यात्रामा जाने नागरिकका लागि पनि यो सेवा निकै लाभदायी हुने देखिएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीमा यो उडान सञ्चालन हुनेछ । फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा सीधा उडान गर्दै आएको छ । यो उडानसँगै पोखरा विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईमार्फत अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ । अब पोखराबाट अस्ट्रेलिया, युरोप वा अमेरिकी सहर जाने यात्रुले एउटै टिकटबाट सहज यात्रा गर्न पाउनेछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई उडानको अनुमति दिएको थियो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको थियो । त्यसको केही समयमै फ्लाई दुबईले सेवा सुरु गरेको हो । विसं २०७९ पुस १७ (सन् २०२३ जनवरी १) देखि सञ्चालनमा आएको यस विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।
सरकारले यस विमानस्थलमा वैदेशिक वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ । ग्राउन्ड ह्यान्डलिङ शुल्कमा पनि सरकारले ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
पोखरा विमानस्थलमा ओर्लिएका यात्रुलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।

लेखकको सम्वन्धमा