दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

पोखरा । दशैँमा टीकाको दिन पोखरामा निशुल्क सार्वजनिक यातायात संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क संचालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निशुल्क गाडी संचालन गर्ने भएपछि यात्रुलाई सुविधा पुग्ने विश्वास छ । त्यसका लागि यहाँस्थित विभिन्न यातायात कम्पनीले गाडी उपलब्ध गराउने छन् ।
बुधबार पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकामा धेरै जनताको बसोबास रहेको र दशैँका दिन अन्य दिनको तुलनामा सार्वजनिक सवारीका साधन कम चल्ने भएकाले यस्तो सुविधा ल्याइएको बताए । उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा चल्ने त्यस्ता १८ वटा बसमा बिहान ७ देखि दिउँसो ४ बजेसम्म यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।
उपभोक्ताको हकहितको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सुझाव अनुसार स्थानीय प्रशासनको समन्वयमा पोखरा महानगरपालिका र यातायात व्यवसायीको सहकार्यले यात्रुलाई सुविधा दिने प्रजिअ पाण्डेको विश्वास छ ।
यो अभियानमा पृथ्वी राजमार्ग बस संचालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायात प्रालिले ९ वटा र वेगनास पोखरा यातायातले ४ वटा गरी १८ बसमा सो सेवा दिने छन् ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीले हेमजा–पोखरा रुटअन्तर्गत फेदी–हेमजा–हरिचोक–पृथ्वीचोकसम ३ बस चलाउने छ ।
स्थानीय यातायात कम्पनीले तनहुँ र कास्कीको सिमाना कोत्रेदेखि पोखरासम्म २ वटा चलाउने छ । ती गाडी कोत्रेदेखि पृथ्वीचोक–चिप्लेढुंगा हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्नेछन् ।
यस्तै, पोखरा यातायातका ९ गाडीले विशेषगरी पोखराका मुख्य क्षेत्रमा सुविधा दिने छन् । तीमध्ये ३ गाडी लामाचौर–बगर–महेन्द्रपुल–बिरौटा–छोरेपाटन, ३ गाडी महेन्द्रगुफा–महेन्द्रगुफा–चिप्लेढुंगा–लेकसाइड र ३ गाडी काहुँखोला–पृथ्वीचोक–हल्लनचोक रुटमा चल्ने छन् ।
वेगनास पोखराका ४ मध्ये २ गाडी वेगनास ताल–तालचोक–पृथ्वीचोक हुँदै विन्ध्यवासिनी बसपार्क र २ गाडी राजाको चौतारा–सातमुहाने–खुँदै हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्ने छन् ।
प्रशासन कार्यालयले चाडपर्वको समयलाई मर्यादित बनाउन विभिन्न कार्यक्रममा तालिमप्राप्त कुकुरसहित चेकिङ, बजार अनुगमनमा तीव्र, सवारी चेकजाँच, हेल्प डेस्कसमेत स्थापना गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरु प्रशासनको अनुरोधमा सहमत भएको बताए । बसका चालक तथा सहचालकलाई भत्ता भने पोखरा महानगरपालिकाले उपलब्ध गराउनेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अध्यक्ष केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, पोखरा वडा १६ का अमृत शर्मा तिमिल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगायतले बोलेका थिए ।
लेखकको सम्वन्धमा