सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने दिन सुरक्षा थ्रेट बढेपछि अदालत र प्रहरी कार्यालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अदालत भरतमणि पाण्डेले आदेश जारी गर्दै प्रदर्शन, जुलुस, हलदंगा तथा झपडा आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुन सक्ने भन्दै अर्को आदेश जारी नभएसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
जसअनुसार पोखरा ७ सहिदचोक आसपास क्षेत्रको पूर्वतर्फ वाईचोक, पश्चिममा बैदामको फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । यस्तै, पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा पालिखचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रहरीले त्यस क्षेत्रमा सुरक्षा घेरा हालेर सुरक्षा व्यवस्था कडा पारेको छ ।
जिल्ला अदालत वरपर रास्वपाका कार्यकर्ता तथा सहकारीपीडित दुवै पक्षले आइतबार प्रदर्शनको पूर्व तयारी गरेका थिए । सो क्षेत्रमा अहिले पनि मानिसको ठूलो भीड लोको छ ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई रारारात पोखरा ल्याएर प्रहरी हिरासतमा राखिएको छ । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ ।
लेखकको सम्वन्धमा