मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन् ।
शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उनले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई हल्लाइदियो। यसले नयाँ चेतना र ऊर्जातर्फ अगाडि बढ्न प्रेरित मात्र गरेन, बाध्य पनि बनायो ।”
उनका अनुसार भदौ २३ र २४ मा जेनजी पुस्ताले चलाएको आन्दोलनले देशैभर नयाँ अवस्था सिर्जना गर्यो र नेपाल निर्माणको दिशामा नयाँ सोच जन्माउन महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रचण्डले जेनजी पुस्ताले उठाएका मुद्दाहरू पार्टीले पहिलेदेखि नै उठाइरहेको दाबी गरे । “विगतका कमजोरी सच्याएर नयाँ ढङ्गले मुलुक निर्माण गर्ने वातावरण तपाईंहरूले तयार गरिदिनुभयो,” उनले उल्लेख गरे ।
प्रचण्डले आफ्नै राजनीतिक यात्राको स्मरण गर्दै १६ वर्षमै पार्टीमा आवद्ध भएको, २७ वर्षमा अखिल नेपाल युवक संघको अध्यक्ष बनेको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको जानकारी दिए । जनयुद्धदेखि पछिल्ला परिवर्तनसम्मका उपलब्धिहरूलाई उनले ऐतिहासिक चरणका रूपमा स्मरण गरे ।
अब मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको बताउँदै उनले भने, “हामीले अब देश बनाउने जिम्मेवारी तपाईंहरूलाई सुम्पिनुपर्छ। नयाँ नेपालको सपना सँगै पूरा गर्ने संकल्प लिनुपर्नेछ ।”
कार्यक्रममा काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट आएका धेरै जेनजी युवाहरू नेकपामा प्रवेश गरेका थिए । संयोजक प्रचण्डले तिनीहरूलाई खादा, अविर र माला लगाएर स्वागत गरे ।



लेखकको सम्वन्धमा