गरिमा सकोसको प्रविधि विस्तार तथा कौसी / करेसाबारी सम्बन्धी तालिम सम्पन्न

बुटवल । बुटवल – ९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा नविनतम प्रविधि विस्तार तथा कौसी र करेसाबारी सम्बन्धी तालिम एक दिने तालिम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले फोहोर व्यवस्थापन सबैको जिम्मेवार भएकाले हरेकले आफ्नो आफ्नो ठाउँबाट फोहोरको उचित व्यवस्थापन तथा न्यूनिकरणमा लाग्नुपर्नेमा जोड दिए ।
तालिम सहजकर्ता समेत रहेका सन्तोष जिसीले घरमा उत्पादन हुने जैविक फोहोरलाई विभिन्न तरिकाबाट कम्पोष्टिङ्ग गर्ने विधिको बारेमा सिकाउदै प्रयोगात्मक अभ्यास गरेका थिए । यसरी उत्पादन हुने फोहोरलाई प्राङ्गारिक मल बनाएर करेसाबारी र कौसी खेतीमा उचित प्रयोग गर्न सके फोहोर न्यूनिकरण हुने र आफूले घरकै ताजा फलफूल तरकारी सेवन गर्न पाउने कुरा जिसीले प्रष्ट पारे । तालिममा जिसी सहित बुटवल उपमहानगरपालिकाका कृषि प्राविधिक सुमन कुर्मीले प्रशिक्षण दिएका थिए ।
त्यस्तैगरी सहकारीका अध्यक्ष विष्णुबहादुर थापाले निरन्तर रुपमा सहकारीका सेयर सदस्यहरूको हकहितका लागि संस्थाले विभिन्न तालिमहरु दिएको बताए । उनले घरेलु फोहोरलाई स्रोतमा नै व्यवस्थापन गरेमा वातावरण स्वच्छ राख्न निकै टेवा पुग्ने कुरामा जोड दिए । कार्यक्रममा फोहोरहरु कुहिने र नकुहिने नछुट्याई व्यवस्थापन गर्ने अभ्यास नै फोहोर व्यवस्थापनको प्रमुख चुनौती रहेको महिला उपसमिति संयोजक तथा सहकारीका सञ्चालक सदस्य उषा भट्टराईले बताईन् ।
सर्वेक्षणका अनुसार बुटवलमा २५ प्रतिशत परिवारले मात्र कम्पोष्टिङ्ग गर्ने देखिएकाले आफ्नो फोहोर आफै व्यवस्थापनका लागि कम्पोष्टिङ्गको सीप विकास गरी करेसाबारी एवं कौसीखेती अभियान टोल टोलमा संचालन गर्न आवश्यक रहेको उनले जानकारी दिइन । तालिममा ३५ जना सहभागि भएका थिए । तालिमको अन्त्यमा सहभागिहरुले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष रञ्जु भट्टराई, कोषाध्यक्ष छविलाल अर्याल, सल्लाहकार पुरुषोत्तम आचार्यलगायतको सहभागिता रहेको व्यवस्थापक कमला भुर्तेलले जानकारी दिईन् ।
लेखकको सम्वन्धमा