एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण
बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र समन्वयमा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ अनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–८ क्षेत्रका करिब ७० जना बढी मानिसले खुशी जीवन जिउने कला सिकेर लाभ लिएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी मानिसलाई आर्थिक, सामाजिक एवं राजनैतिक तथा अन्य कामहरूले जोखिम सृजना गरिरहेको हुन्छ र जोखिमले तनाव उत्पन्न बनाउने बताउँदै उहाँले व्यवसायीहरू समय व्यवस्थापन एवं आर्थिक व्यवस्थापन गर्नका लागि नै बढी तनावमा हुने भएकाले व्यवसायीहरूलाई तनाव व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
तालिमलाई सहजीकरण गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले अहिले विश्वमा बन्दै गइरहेको डिजिटल लाईफ शैली, फास्ट फुड, अस्वस्थ प्रतिष्पर्धा, योग, ध्यान र साँस्कृतिक जीवन शैलीको अभाव तथा अव्यवस्थित जीवन शैलीको कारण अत्याधिक मानिसमा मानसिक समस्या बढ्दै गइरहेको, धैर्यताको कमी, पारिवारिक बेमेल, डिजिटल÷मोबाईल एडिक्सन, इमोसन कन्ट्रोल गर्न नसक्ने आदि समस्या जटिल बन्दै गइरहेकाले राज्यले ठोस कार्यक्रम नल्याएमा आगामी पुस्ता भयानक नैतिक र भावनात्मक समस्यामा पर्ने बताउनु भयो ।
कार्यक्रममा सरल विधिद्वारा तनाव व्यवस्थापन, नकारात्मक निराकरण उपायहरु, शारीरिक र मानसिक रुपमा स्वस्थ हुने तरिका आत्मविश्वास वृद्धि गर्ने उपाय, योग ध्यान र आध्यात्मिक अभ्यासका विधि, विपरीत परिस्थितिलाई समर्थ स्थितिमा बदल्ने तरिका तथा सुसंस्कारयुक्त जीवनशैली विषयहरुको सहजीकरण गरिरहेको थियो ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठकोे अध्यक्षता,सचिव सपना खनालको सञ्चालन तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेको सहजीकरणमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सहभागीले प्रशिक्षणमार्फत आफूहरुले खुशियाली जीवनका केही सुष्म आयामहरु सिक्न पाउँदा कार्यक्रम लाभदायक भएको बताए । उनीहरुले प्रशिक्षण कार्यक्रममा सिकाइएका सम्पूर्ण विधिहरु जीवनउपयोगी भएको महसुस गर्दैै सबैलाई सिक्न आग्रह समेत गरे ।
कार्यक्रममा बुटवल उप-महानगरपालिका वडा नं. ८ को सहयोग तथा समन्वय तथा बैंकिङ्ग पार्टनर सिटिजन्स बैंक सुख्खानगर शाखा र रेमिट पार्ट्नर आई पे रेमिट काठमाडौंको सहयोग रहेको थियो ।



लेखकको सम्वन्धमा