रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन् ।
बिहीबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंहदरबार बदल्ने जिम्मेवारी सुरु भैसकेको बताए । उनले जनताको मतादेश सिंहदरबार जलाउन नभै बदल्नका लागि भएको उल्लेख गरे ।
उनले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं । लामिछानेले जनताप्रति मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्ने वाचा गरे ।
सभापति लामिछानेले “न्याय पाउने पहिलो हक सहिदकी आमाको भएको बताए । उनले सरकारले सहिदकी आमालाई न्याय दिन खोज्दा त्यसलाई कसैले प्रतिशोध भन्न नपाउने समेत बताए ।
सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए ।
विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उहाँले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए ।
गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उनले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए ।

लेखकको सम्वन्धमा