चर्चामा

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने दाबी

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने दाबी
0 0
Read Time:7 Minute, 42 Second

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित समयभन्दा अघिनै योजना सम्पन्न हुने दाबी गरे ।

‘निर्माणको काम ५ वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न गर्छौ भन्ने लागेको छ ।’(पोखरेलले भने, बीचमा कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ । हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । अस्पतालका पूराना संरचना हटाउने काम ९साइट क्लिरियन्स०पछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए ।

हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले बताए । यसैगरी दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको र्याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ । उनका अनुसार बर्खाको समयमा समेत काम रोकिने छैन । ‘बर्खामा पनि पानी परेको समय बाहेक अन्य समय दिन/रात गरेर निर्माणको काम अघि बढ्छ ।’-सुवेदीले भने, बीचमा कुनै ठूलो विपत्ति वा समस्या आएन भने कामलाई तिब्रता दिनेइने छ ।

आयोजनाको प्रगतिबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले निर्माणका लागि आउन सक्ने आर्थिक संकटका लागि पनि सम्बन्धित मन्त्रालय, प्रदेश सरकार तथा संघीय सरकारसँग छलफल भैरहेको जानकारी दिए । कुनै पनि योजना अगाडि बढाउँदा सुरुको चरणमा ठूलो आर्थिक भार पर्ने भएपनि त्यसको भार बिस्तारै कम हुनेहुँदा यसको व्यवस्थापनका लागि आगामी दिनमा थप सहज हुँदै जाने अपेक्षा गरिएको उनले बताए । संघीय सरकारकोतर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समेत अस्पतालको योजना पूरा गर्नका लागि निरन्तर चासो व्यक्त गर्दै आएको र प्रदेश सरकारले पनि समयमै योजना सम्पन्न गर्ने जोडमा रहेका कारण आर्थिक समस्या भोग्नु नपर्ने अपेक्षा व्यक्त गरे ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले समयमै योजना सम्पन्न भएमा जनताले थप सहज स्वास्थ्य सेवा पाउने उल्लेख गरे । अस्पतालको स्तरोन्नती भएपछि स्वास्थ्य क्षेत्रमा यस क्षेत्रमै कायापलट हुने भन्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्नु बुटवलबासीको दायित्व भएको बताए । अस्पतालको भवन निर्माणसँगै यसमा प्रयोग हुने उपकरण, जनशक्ति व्यवस्थापन लगायतका विषयमा प्रदेश सकारले अहिलेदेखिनै तयारी थाल्नुपर्नेमा उनको जोड छ ।

पाँच वर्षभित्र ६ अर्ब १८ करोडको परियोजना

सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । वि.सं २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद ,(२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।

१२ सय बेड, एकीकृत विशेषज्ञ सेवा

नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको थियो । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ । यसको सुपेरीवेक्षण समेत निरन्तर भइरहेको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् ।

अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिक सल्ट सेन्टर’ लाई ‘जी-टु-जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ । निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा विभिन्न कार्यमा खटिएका छन् । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले उनीहरुले रातिमा समेत सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम गरिरहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा  इन्द्र ढकालका अनुसार अहिले जनरल मेडिसिन, न्यूरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरीलगायत १७ भन्दा बढी विभागीय सेवा, साथै प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, ईईजी र इकोकार्डियोग्राम लगायत परीक्षण सेवाहरू सञ्चालनमा छन् । हाल अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी, साथै सरकार र विकास समितिबाट सयौं कर्मचारी कार्यरत छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %