बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै
बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य बजार क्षेत्रभन्दा भित्र रहेका ठाउँहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो ।
बुटवल उपमहानगर–७ को शिवनगर चोकमा हाईमास्ट लाईटको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुधबार शिलान्याश गर्दै यो वर्ष १९ वटा हाईमास्ट लाईट जडान गरिने जानकारी दिए । उज्यालो बुटवलको कार्यक्रमले रातीको समयमा हुने चोरी नियन्त्रणमा मद्दत पुगेको उनले बताए । अब जोडिने हाईमास्ट लाईटमा डिजिटल डिस्प्ले जडान हुने बताउँदै उनले त्यसमा नगरको सुचना प्रवाहसँगै बिज्ञापनको लागि टेण्डर गरिने र त्यसबापत प्राप्त हुने राजश्वबाट विद्युतको महशुल भुक्तानी गरिने जानकारी दिए ।
विज्ञापन डिस्प्लेसहितको १९ वटा हाईमाक्स जडान गर्नको लागि उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट २ करोड ६४ लाख ३४ हजार बजेट छुट्टाएको छ । उपमहानगरपालिकाले २ करोड ५४ लाख ४७ हजारमा त्रिसन्ध्या मार्क जेभीसँग मंसिरमा काम सक्ने गरी ठेक्का सम्झौंता गरेको छ ।
पहिलो र दोस्रो चरणमा बुटवलका मुख्य सडक, बजार तथा बस्तीहरुमा लाइट जडान गरिएको बताउँदै बुटवल उपमहानगरका भवन निर्माण महाशाखा प्रमुख सुमन श्रेष्ठले अहिले सुरु भएको तेस्रो चरण्मा भित्री बस्तिहरु तथा पार्कहरुमा लाइट जडान गरिने जानकारी गराए ।

लेखकको सम्वन्धमा