चर्चामा

सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस

सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
0 0
Read Time:3 Minute, 21 Second

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी, तीव्र र समन्वयात्मक बनाउन सरकारलाई आग्रह गरेकी छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन्, ‘सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् । आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि, हेलिकप्टर र उद्धार उपकरण परिचालन गरियोस्। किनकि सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बच्नु पर्छ र बचाउनु पर्छ। यही राज्यको सबैभन्दा ठूलो धर्म हो ।’

उनले रसुवामा विनाशकारी बाढी गएको आज दुई हप्ता भन्दा बढी भइसक्दा पनि पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको गुनासो पीडित परिवारबाट आइरहेको बताइन् ।

‘यो केवल प्राकृतिक विपत्ति होइन, सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय संकट हो। आज पनि आफ्ना आफन्तको अवस्था थाहा नपाएर परिवारहरू आशा र पीडाको बीचमा बसिरहेका छन्,’ उनले भनिन्, ‘दैलेख जिल्लाका बासिन्दा प्रकाश आचार्य, नरबहादुर थापा, पवित्रकुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही, कृष्णबहादुर चन्द लगायत दैलेख तथा कर्णालीका धेरै नागरिकहरू सम्पर्कविहीन हुनुहुन्छ । कर्णालीबाट मात्रै ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कमा नआएको सार्वजनिक विवरणले देखाएको छ ।’

उनले साधन पाएनौँ, बाटो छैन वा अर्को समस्या छ भनेर सरकारले बहाना बनाउने नभई अहिले प्रत्येक मिनेट महत्त्वपूर्ण छ भनेर परिवारलाई परिणाम दिनुपर्ने बताइन् ।

‘मेरो गृह जिल्ला दैलेख क्षेत्र नम्बर १ मा बसोबास गर्दै आएका नमूना बस्तीका बादि समुदायका १० घर पहिरोका कारण विस्थापित हुनुपरेको छ । वर्षौंदेखि लालपुर्जाविहीन रहेका ती नागरिकहरू अहिले घरबारविहीन हुन पुगेका छन् । यस विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न माग गर्दछु,’ उनले भनिन्, ‘आज रसुवा मात्र पीडामा छैन, कर्णाली मात्र पीडामा छैन। आज सिंगो देश शोकमा डुबेको छ । यस्तो राष्ट्रिय विपत्तिको समयमा मेरो र अर्काको होइन, हाम्रो भन्ने भावना हुनुपर्छ । नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %