चर्चामा

नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता

नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता
0 0
Read Time:8 Minute, 16 Second

पोखरा । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछन् । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने बताएको छ । विसं २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरू आ–आफ्नो वडाको अधिवेशनमा भाग लिँदै छन् । सभापति गगन थापाले १५औं महाधिवेशनका लागि वडा तहबाट सुरु हुन गइरहेको अधिवेशनमा उत्साहका साथ सहभागी हुन आह्वान गरिसकेका छन् ।

अधिवेशनमा वडा क्षेत्र भित्रका क्रियाशील सदस्यहरू वडा अधिवेशनका सदस्य हुने छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित ७ जना वडा सदस्यमा निर्वाचित हुने छन् । कांग्रेस विधानमा नगर तथा उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित ८ जना वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।

कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले ५, नगर तथा उपमहानगरपालिका वडा सभापतिले ६ र महानगरपालिका वडा सभापतिले ७ जनालाई मनोनीत गर्न पाउँछन् । वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व र युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान छ । कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ । यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ । कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।

गाउँ, नगर, उपमहानगर र महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन् । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिला र एक श्रमिक वा पेसागत क्षेत्रसहित ९ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ । यस्तै ३० वर्ष उमेर नपुगेका एक महिलासहित ३ युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था छ । त्यसैगरी, १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने छन् । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको ५० प्रतिशत संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ । विधानमा भनिएको छ, ‘अपलाङ्गता भएका र दलित क्रियाशील सदस्यबाट एक एक जना प्रतिनिधि ।’ विधानअनुसार कांग्रेसको वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिन्छन् ।

कांग्रेसले वडा कार्यसमितिको सभापतिका लागि योग्यताको मापदण्ड तोकेको छैन । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन भएको पार्टीको विधानमा वडा कार्यसमिति सभापतिको उम्मेदवारका लागि योग्यता खुलाइएको छैन । यसअघि कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको १ वर्ष पुगेको सदस्य मात्रै गाउँ, नगर, उपमहानगर र महानगर वडा कार्यसमिति सभापतिको उम्मेदवार बन्न पाउने प्रावधान थियो । संशोधित विधानमा गाउँ वा नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापति र केन्द्रीय सभापतिको उम्मेदवार बन्न आवश्यक योग्यता पनि तोकिएको छैन ।

तर, १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ मा भने वडा सभापति बाहेक उम्मेदवारको योग्यता र मनोनयनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार गाउँ वा नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवको हकमा ५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ । यस्तै, जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिएको हुनुपर्नेछ । तर ३५ वर्ष मुनिका युवा, समायोजन भई आएका र पेसागत तथा श्रमिक क्षेत्रका सदस्यको हकमा यो सीमा लागु नहुने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा केन्द्रीय पदाधिकारीका लागि १० वर्ष र केन्द्रीय सभापतिको हकमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने पनि भनिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %